लगूऔषध कारोबारी र सेवनकर्ताहरु विरुद्ध एकजुट भए अर्जुनधारा–७ का स्थानीयवासी
अमित खम्बू,
अर्जुनधारा।

लागूऔषध कारोबारी र सेवनकर्ताहरुबाट समाजमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरुको गतिविधिलाई निगरानी र नियन्त्रण गर्ने उद्धेश्यले झापा अर्जुनधारा–७का स्थानीयवासी एकजुट भएका छन् ।
स्थानीयस्तरमा लागुऔषध कारोबारी र सेवनकर्ताहरुका कारण प्रत्यक्ष र अप्रत्यक्षरुपमा विकृति र विसंगति बढेको व्यापक जनगुनासो आएपछी सामाजिक अभियन्ताद्वय कमल पोखरेल र इशान ढकालको सक्रियतामा उनीहरु एकजुट भएका हुन् ।
स्थानीय बा¥हदशी नदी किनारमा रहेको पिपल चौतारीको परिसरमा अर्जुनधारा–७ वडा समितिका अध्यक्ष गोविन्दप्रसाद खतिवडाको अध्यक्षतामा बिहीबार आयोजित भेलाले अभियन्ता पोखरेलको संयोजकत्वमा १९ सदस्यीय समिति गठन गरेको छ । नवगठित समितिको सहसंयोजकमा मुनादेवी बाँस्कोटा, सचिवमा अर्का अभियन्ता ढकाल र सदस्यहरुमा अविनाश राई, अशोक राई, इशान पौड्याल, जयप्रसाद पाठक, दिपेन्द्र कटुवाल, धनबहादुर राई, निरु कार्की रहेका छन् ।
त्यसैगरी अन्य सदस्यहरुमा बन्दना काफ्ले, राजन दर्नाल, रोशन सुब्बा, वसन्त खाती, विकास राई, विशाल भण्डारी, सञ्जय थापा, सरस्वती भण्डारी र सुरेश गिरी रहेका छन् । नवगठित समितिले लागुऔषध कारोबारी र सेवनकर्ताहरु भेला हुने स्थलको निगरानी, वडामा रहेका सेवनकर्ताहरुको सूचि संकलन गर्ने, विभिन्न सचेतनामूलक कार्यक्रमहरु आदि सञ्चालन गर्ने संयोजक पोखरेलले जानकारी दिए ।
उनीहरुका कारण समाजमा रहेका अन्य किशोरकिशोरी र युवाहरु कुलतमा फस्ने, लागुऔषध सेवन गर्नका लागि आर्थिक स्रोत जुटाउन जस्तैसुकै कार्यहरु हुने, विभिन्न आपराधिक क्रियाक्लाप हुने भएको हुँदा हामीहरु यस कार्यको विरुद्ध एकजुट भई अभियान सञ्चालन गर्न समिति आवश्यक भएको संयोजक पोखरेल बताउँछन् ।
यस अभियानलाई वडा समिति, प्रहरी प्रशासन र सरोकारवालाहरुको समर्थन भएको हुँदा आफूहरु जसरी भए पनि अभियान सफल बनाउन सक्रिय रहने समितिका सचिव ढकालले बताए । उनी भन्छन्–“लागुऔषध मुक्त समाज निर्माण गर्नु नै यो अभियानको साझा उद्धेश्य हुनेछ ।”
समितिको उक्त अभियानलाई सफल बनाउन भेलामा छिमेकी वडा अर्जुनधारा–८ वडा समितिका अध्यक्ष कुमारप्रसाद उप्रेती, नगर सभा सदस्य देवकुमार राई, शनिश्चरे प्रहरी चौकीका वरिष्ठ हवल्दार बेनुप्रसाद बाँस्कोटा, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष र उपाध्यक्षद्वय कुमार भट्टराई र रमेश समदर्शी, शनिश्चरे बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्णबहादुर थापा, सामाजिक व्यक्तित्व भक्ति सिटौलालगायतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यता भेलालाई सम्बोधन गर्ने क्रममा अर्जुनधारा–७ वडा समितिका अध्यक्ष खतिवडाले यस किसिमको समस्याको स्थायी रुपमा समाधान गर्न वडा अन्र्तगतका सबै टोलहरुमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, लागुऔषधी कारोबारी फेला परेको अवस्थामा आवश्यक कानुनी कार्वाहीको लागि पहल गर्ने, नगरस्तरिय पुनःस्थापना केन्द्रको स्थापना लगायतका कार्यहरु गर्ने बताए ।
