September 26, 2026

खाद्यान्न बालीको बीमा

0

मान्म,

कालीकोटको शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्यले पदभारपछि खाद्यान्न बालीको बीमा गर्ने निर्णय गर्नुभएको छ । सोमबार गाउँपालिका अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष आचार्यले सो निर्णय गर्नुभएको हो ।

आचार्यले गाउँपालिकावासीलाई खाद्यान्न उपलब्ध गराउनु आफ्नो पहिलो कार्य भएको बताउनुभयो । “कसैले खाना पाउने अधिकारबाट वञ्चित नहुन भनेर मैले खाद्यान्नबालीको बीमा गरेर भोकमरी हटाउने लक्ष्य राखेको छु”, उहाँले भन्नुभयो,“प्राकृतिक विपत्तिका कारणले खाद्यान्न बालीमा असर गर्ने भएकाले भोकमरी हुन्छ । त्यसलाई हटाउनका लागि खाद्यान्न बालीको बीमा गरिएको हो ।”

गाउँपालिकामा पाकेको अन्नबाली बाढीपहिरो तथा असिना पानीले सखाप पार्ने भएकाले नागरिकमा भोकमरी त्रास हुने गरेकोले बाली बीमा अनिवार्य रुपमा गरिने अध्यक्ष आचार्यले बताउनुभयो ।

“मानिसको जीवनमा सबैभन्दा बढी आवश्यकता भनेको गाँस, बास र कपास हो”, उहाँले भन्नुभयो,“नागरिकका आवश्यकता पूरा गर्नका लागि यो काम गर्न लागेको हुँ ।” यस पटक नागरिकले लगाएको गहुँबाली असिनाले नष्ट गरेकाले खाद्यान्न वितरण गर्ने योजना रहेको अध्यक्ष आचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *