सुकुम्बासीलाई धनीपूर्जा दिन्छौं भन्दै कहिलेसम्म चुनावी नारा बनाउने ?
दमक।

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा मतदाता आफ्नो पक्षमा पार्न उम्मेदवार घरदैलो कार्यक्रममा छन् । उम्मेदवारलाई चुनावी चटारो छ । ०७४मा स्थानीय तहको नेतृत्व गरेका दलका उम्मेदवार अपूरा काम पूरा गर्न मत मागिरहेका छन् ।
अघिल्लो निर्वाचनमा स्थानीयसत्ताको नेतृत्व गर्न नपाएका दलका उम्मेदवार विगतमा भएको गलत कामको भण्डाफोर गर्ने भन्दै मतदाता कहाँ भोट माग्न पुगेका छन् । दलहरुसँग नयाँ चुनावी एजेण्डा खासै छैन । उनीहरुका घोषणा पत्र हेर्ने हो भने बिगतको घोषणा पत्रलाई ‘पुनः सम्पादन’ गरेको जस्तो देखिन्छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकलाई पनि चुनावले छपक्कै छोपेको छ ।
प्रमुख दलबाट पुरानै अनुहार चुनावमा होमिएका छन् । कांग्रेस, माओवादी र राप्रपाको अघोषित गठबन्धनबाट नगर प्रमुखमा राम थापा उम्मेदवार छन् । एमालेबाट उम्मेदवार बनेकी गीता अधिकारी नयाँ अनुहार होइनन् । उनले दमक नगरपालिकाको उपप्रमुख पद सम्हालिसकेकी छन् । यी दुई उम्मेदवारबीच दमकमा प्रतिस्पर्धा हुने देखिन्छ । पुराना अनुहारबाट पुरानै एजेण्डा लिएर जनतामाझ गएका छन् ।
दमकमा सुकुम्बासीले सँधै आश्वासन मात्र पाउँछन् । प्रत्येक चुनावमा सुकुम्बासीलाई जग्गा धनीप्रमाण पूर्जा दिने दलहरुको एजेण्डा बन्छ । तर, सुकुम्बासीले कहिल्यै धनीपूर्जा पाउँदैनन् । दमक–१० सेतुमारी बगरगाउँकी अनिता शेर्मासँग ०६८ सालमै सुकुम्बासी समस्या समाधान आयोगले दिएको सुकुम्बासी परिचयपत्र छ । उनले जग्गाधनी प्रमाणपूर्जाका लागि पटक–पटक फाराम भरिन् । दलहरुले चुनावमा पनि यही आश्वासन दिन्छन् । तर, उनले धनीपूर्जा भने अझै पाएकी छैनन् । ‘चुनाव नै पिच्छे धनीपूर्जा दिन्छु भन्छन्, ०७४मा पनि धनीपूर्जा दिइहाल्छु भन्थे ।
तर, अहिलेसम्म दिएनन्’– उनी भन्छिन्– ‘यसपटक पनि धनीपूर्जा दिन्छु भन्दै भोट माग्न आएका छन् । तर, हामीलाई आशा छैन ।’ उनको घर नेपाल–चीन मैत्री औद्योगिक पार्क छेउमै छ । यो सुकुम्बासी गाउँ नै औद्योगिक पार्कले अधिग्रहण गर्ने भनेर हल्ला छ । उनलाई पनि श्रीमानले विदेशमा वर्षौँ दुःख गरेर सुकुम्बासीबस्तीमा बनाएको घर जाने त होइन भन्ने चिन्ता छ । ‘यो औद्योगिक पार्कले लान्छ भन्छन्– उनले भनिन् । तर, अहिलेसम्म कसैले छाड भनेर चाहिँ आएको छैन । श्रीमानले धेरै वर्ष विदेशमा दुःख गरेर एउटा घर जोडेँ । यही पनि जान्छ कि भन्ने पीर छ’– उनी भन्छिन्– ‘चुनावका बेला त के के आश्वासन दिन्छन्, दिन्छन् । तर, चुनाव सकिएपछि पूरा गर्दैनन् ।’
दमक–१० सेतुमारी बगरटोलकी वृद्धा फूलमाया हेमरमले जसोतसो ऐलानी जग्गामा झुप्रो जोडेकी छन् । अर्काकोमा लामो समय काम गर्न बसेर, जनबन गरेर भए पनि उनको परिवारले ओत लाग्ने झुप्रो बनाएको छ । तर, यो जग्गाको धनीपूर्जा नपाउँदा कतै लखेटिनुपर्ने त हैनभन्ने चिन्ता छ– उनलाई । ‘जनबन र अर्काकोमा हली बसेर जोडेको जग्गा हो, चुनावका बेला केही हुँदैन धनीपूर्जा दिन्छौँ भन्छन् । चुनाव सकिएर गएपछि नेताको भर नै हुँदैन, के गर्छन्, गर्छन्’– उनले भनिन्– ‘वडाध्यक्ष (निवर्तमान दमक–१० का वडाध्यक्ष बोधराज न्यौपाने) को घरमा हाम्रो परिवार ४५ सालतिर हली बसेका थियो, उहाँ हुँदा त धनीपूर्जा पाएनौँ अब के पाउँछौँ ?’
गरीबलाई खाना, राम्रो घरमा बस्न नै सकस छ । छोराछोरीलाई राम्रो शिक्षा दिने त कल्पनाको विषय मात्रै बन्दैछ । ‘बिहान बेलुका छाक टार्न मुस्किल छ । केटाकेटीलाई कसरी पढाउने ? मजदुरी गरेको पैसाले खान पनि पुग्दैन । हामीलाई पनि छोराछोरी राम्रो स्कूल पढाउने मन हुन्छ । तर, पढाउन सकेका छैनौँ । सरकारी स्कूलमा पनि के केमा पैसा लाग्छ । सरकारी स्कूल पनि पढाउन नसक्ने भइसक्यौँ’– उनी भन्छिन्– ‘अब चुनाव जित्नेले कम्तीमा हाम्रा नानीहरुले राम्रो स्कूल पढ्ने व्यवस्था मिलाइ दिऊन् । पढाउँदा पैसा नलागोस् ।’
