April 30, 2026

विप्लव नेतृत्वको नेकपाका भित्र लफडा, बास्तोला र ओली पदमुक्त

0

काठमाडौं ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन)लाई पदमुक्त गरेका छन् ।

फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले उनीहरुलाई पदमुक्त गरेका हुन् । विप्लवले जारी गरेको विज्ञप्तिमा दुवै जनालाई अनिश्चितकालसम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ । ‘

सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवम् भेलासमेत गर्दै हिंडेकाले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ,’ विप्लवले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

यो कारबाही बाध्यता भएको पनि विप्लवले उल्लेख गरेका छन् । विप्लवले भनेका छन्, ‘हामी पार्टीमा यस्तो नहोस् भन्ने चाहन्थ्यौं तर विभिन्न तत्वहरुको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनुपर्ने अवस्था सृजना भएको छ ।’

हालै ओलीले एक टेलिभिजन अन्तरवार्तामा विप्लवले विभिन्न संस्थामा लगानी गरेको र विलासी जीवनशैली अपनाएको आरोप लगाएका थिए । साथै बास्तोलाले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी युक्त वक्तव्य निकालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *