अर्जुनधारामा किसानहरुको सूचिकरण गर्ने कार्यक्रम सुरु हुने
अमित खम्बू,
अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकामा किसानहरुको सूचिकरण गर्ने कार्यक्रम सुरु हुने भएको छ ।
चालु आर्थिक वर्ष ०७८÷०७९देखि किसानहरुको सूचिकरण गरी उनीहरुको वर्गीकरण गर्दै उनीहरुलाई परिचय पत्र वितरण गर्ने संघीय सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार उक्त कार्यक्रम सञ्चालन हुने भएको कृषि ज्ञान केन्द्र झापाका बागवानी विकास अधिकृत अंकित भट्टराईले बताए ।
अर्जुनधारा नगरपालिका पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाद्वारा मंगलबार आयोजित किसान सूचिकरण सहजकर्ता तालिमको औचित्य माथि प्रकाश पार्ने क्रममा अधिकृत भट्टराईले सहजकर्ताहरुको तालिम समापन भए लगत्तै उक्त कार्यक्रम सुरु हुने बताइएको छ ।
अधिकृत भट्टराईका अनुसार सूचिकरण कार्यक्रमका लागि छनौट भएका सहजकर्ताहरुले सम्बन्धित किसानको घरमै पुगेर तथ्याङ्क फाराममा उल्लेख भएका १७ वटा विधामा उनीहरुको विवरण संकलन गर्नुपर्ने हुन्छ । जसमा किसानको परिचय, पारिवारिक विवरण, खेतीयोग्य जग्गाको विवरण, लिज जग्गाको सम्झौता विवरण दिएको तथा लिएको, आय–व्यय विवरण, उत्पादनको विवरण, बजारीकरणको विवरण, फार्म दर्ताको विवरण रहेका छन् ।
त्यसैगरी अन्य विवरणहरुमा पशु संख्याको विवरण, पशु उत्पादनको विवरण, पशु उत्पादन बजारीकरणको विवरण, कृषि औजारको विवरण, पशु औजारको विवरण, मत्स्य औजारको विवरण, मत्स्य पालनको विवरण, मत्स्य बजारीकरणको विवरण र कागजात रहेका छन् ।
यस कार्यक्रमको कार्यविधिमा पालिकास्तरका किसानहरुको पहिचान र सूचिकरण, सानो–मध्यम–ठूलो कुन तहको किसान हो भन्ने कुराको वर्गीकरण र तथ्याङ्कमा उल्लेख भए अनुसार लामो समय कृषि पेशामा आवद्ध किसानलाई परिचय पत्रको आधारमा पेन्सन सुविधा दिइने कुरा उल्लेख गरिएको अधिकृत भट्टराईले जानकारी दिए । उनी भन्छन्–“यो कार्यक्रमले कृषि क्षेत्रका योजनाहरु तर्जुमा गर्न तथा कृषिका कार्यक्रमहरु सञ्चालन गर्न सहज हुनेछ ।”
चालु आर्थिक वर्षको लागि संघीय सशर्त अनुदानबाट तीन लाख रुपैयाँ बजेट विनियोजन भएको यस कार्यक्रम सञ्चालन गर्न छ जना सहजकर्ता छनौट गरिएको आयोजक पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखा प्रमुख पदमलाल राईले जानकारी दिए । अर्जुनधारा–१ नम्बर वडाबाट सुरु हुने यो कार्यक्रम आगामी आर्थिक वर्षहरुमा नगरपालिकाको ११ वटा वडामै सञ्चालन हुने प्रमुख राईले बताए ।
नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा प्रमुख राना, उपप्रमुख कमला खतिवडा आचार्य र प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले सहभागी सहजकर्ताहरुलाई सत्य तथ्य विवरणका आधारमा सूचना संकलन गर्न सुझाएका छन् ।
विश्वास गरेकोलाई ढाँट्ने र शरण परेकोलाई कुट्ने संस्कार गलत भएको भन्दै तोकिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न प्रमुख रानाले सहभागी सहजकर्ताहरुलाई आग्रह गरेका छन् ।
त्यसैगरी उपप्रमुख आचार्यले सहजकर्ताहरुले संकलन गरेको विवरण वास्तविक भएको वा नभएको भन्ने विषयमा पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखालाई अनुगमन गर्न सुझाएका छन् ।
शाखा प्रमुख राईले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन पशु सेवा प्राविद्यिक बेनुप बस्नेतले गरेका थिए । कार्यक्रमका लागि छनौट भएका छ जना सहजकर्तासहित कृषि विकास शाखा र आयोजक पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाका प्रतिनिधिहरु गरी तालिममा जम्मा १५ जनाको सहभागिता रहेको बताइएको छ ।
