मेचीनगरमा जग्गादतादेखि वृद्ध—वृद्धासम्मानित
मेचीनगर ।

झापाको मेचीनगरमा विहीबार विभिन्न क्षेत्रमा योगदान गर्ने ५ सय ९ जनालाई सम्मान गरिएको छ ।
मेचीनगर नगरपालिका-२ नम्बर वडा कार्यालय भृकुटी झापाले आयोजना गरेको जग्गादाता तथा वृद्धवृद्धा सम्मान कार्यक्रममा १ सय ४ जना जग्गादाता तथा ४ सय ५ जना वृद्ध-वृद्धा गरी कुल ५ सय ९ जनालाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, विशिष्ट अतिथि नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा सम्मानित सवैजनालाई ढाकाको टोपी, दोसल्ला र सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
वडानम्बर २ का वडाध्यक्ष तिलक न्यौपानेको सभापतित्वमा वडा कार्यालय परिसरमा भएको सम्मान कार्यक्रममा बोल्दैं नगर प्रमुख आचार्यले स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि स्थानीय ठाउँको विकास निक्कै भएको र त्यसमा त्यसक्षेत्रका विभिन्न व्यक्तिको सहयोग रहेको बताउनुभयो । त्यसैका कारण नगरपालिकाले सवैलाई सम्झेको उहाँको भनाई थियो ।
सडक, सडकबत्ती, विद्युत, बाटाघाटा, सञ्चार, कालोपत्रे खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका सेवा नगरपालिकाले नगरका १५ वटै वडामा पुर्याउनेलक्ष्य लिइएको भए पनि कति ठाउँमा पुगेको कति ठाउँमा पुग्न बाकी रहेको उहाँको भनाई छ । निकट भविष्यमा यसक्षेत्रका वडावासीको शान्ति सुरक्षाका लागि प्रहरी बीट स्थापना गर्ने बताउनुभयो ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाले ५ वर्षको अवधिमा गरेका काम र नगरवासीले पाएको लाभका बारेमा चर्चा गर्नुभयो । उहाँले नगरवासीको साथ सहयोग बनिा नगरपालिका लक्ष्यमा पुग्न नसक्ने भएकाले हरेक विकास निर्माणका कामदेखि नगरको शिक्षा, स्वास्थ्य, विद्युतलगायत सवै खाले काममा नगरवासीको साथ सहयोगको आवश्यकता पर्ने बताउनुभयो ।
शिक्षासेवी लम्बोदर पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा सम्मानितहरुकातर्फबाट जग्गादाता दौलतविक्रम कार्की र वृद्ध-वृद्धाकातर्फबाट ज्ञानबहादुर तामाङ्गले बोल्नुभएको थियो भने वडा सदस्य वेनुकमार राईले स्वागत गर्नुभएको थियो ।
