September 18, 2026

फाकफोकथुममा २१ दिने दर्ता शिविर संचालन

0

युद्धबहादुर बोहोरा
इलामः

जिल्लाको फाकफोकथुम गाउँपालिकाको सातै वटा वडामा व्यक्तिगत घटना दर्ता शिविर संचालन भएको छ । मंगलवार १ नम्बर वडाका अध्यक्ष टेकवीर लिम्बुको प्रमुख आतिथ्यमा घुर्बिसे पञ्चमीमा तीन हप्ते शिविरको उद्घाटन गरिएको पालिकाका फिल्ड सहायक विमल घिमिरेले जानकारी दिए ।

वडा कार्यालयमा पुग्नु पर्ने समस्या र दर्ता छुट भएका नागरिकलाई मध्यनजर गर्दै आगामी चुनाव नजिकिन्दै गर्दा पालिका बासीलाई सहज होस भन्ने उदेश्यले पालिकाको आयोजनामा सेवा प्रदायक संस्था सिएससि सप्लायर्स,इलामको प्राविधिक सहयोगमा जन्म,विवाह,मृत्यु,बसाइसराई,सम्बन्ध बिच्छेद जस्ता घटनालाई शिविर मार्फत दर्ता गराइने जनाइएको छ ।

घटना घटेको ३५ दिन भित्र सम्बन्धित स्थानीय तहमा दर्ता गराउनु पर्ने कानुनी व्यवस्थालाई वेवास्था गरेमा सरकारी सेवा सुविधा नपाइने र जारिवाना समेत हुने कानुनी व्यवस्था बारे अध्यक्ष लिम्बुले जानकारी गराउँदै विविध कारणबस छुट भएका नागरिकहरुले शिविरबाट सेवा लिन समेत सबैलाई आग्रह गरेका छन् ।

अहिले देशभर विवाह दर्ताको समस्या रहेको उनले बताए । २०७४ साल अगाडि एक पुरुषले जति श्रीमति विवाह गरेपनि बहुविवाहको मुद्दा चल्ने तर विवाह दर्ता हुने गरेको थियो । हाल देवानी आचारसंहिता लागु भएपछि विवाह गर्न चाहने दुवै पक्ष जुनै तरीकाले एकल भएको प्रमाण भए मात्रै विवाह दर्ता हुने नियम लागू भएको जानकारी गराए ।

पालिकाले ३५ दिन भित्रमा घटना दर्ता गराएका सुत्केरी महिलालाई पोषण खर्च स्वरुप तीन हजार,मृत्य दर्ता भएमा किरिया खर्च वापत पाँच हजार उपलब्ध गराउने कार्यपालिकाको निर्णय रहेको बताए । दलित बालबच्चा जन्मिएर समयमै दर्ता गर्दा पोषण खर्च पाउने राज्यले व्यवस्था गरेता पनि कतिपय दर्ता प्रकृया समयमा नहुँदा वञ्चित रहने सक्ने हुँदा सचेत हुनु पर्ने सुझाव दिए ।

२१ दिन सम्म चल्ने शिविर १७,१८ र १९ गते वडा नम्बर १ को घुर्बिसे पञ्चमी,छाँयादेवी माध्यमिक विद्यालय लुङ्सुङ्दाङ र खाम्बाङ माध्यमिक विद्यालय खाम्बाङमा संचालन हुनेछ ।

२०,२१ र २२ गते वडा नम्बर २ को चुहान डाँडा आधारभूत विद्यालय चुहानगाउँ,धार्नेखोप आधारभूत विद्यालय ,धार्नेखोप र सुभद्रा आधारभूत विद्यालय साप्स्थातीनलाई स्थान तोकिएको छ । त्यस्तै, २३,२४ र २५ गते वडा नम्बर ७ को जनकल्याण माध्यमिक विद्यालय,टंकदियालीको घर रुपटार र ६ र ७ नम्बर वडाको संयुक्त सिंहदेवी माध्यमिकविद्यालय शिकारी भन्ज्याङमा तोकिएको छ भने ६ नम्बर वडाको लागि २६ र २७ गते गाउँघर क्लिनिक सिमसारा र पञ्चकन्या आधारभूत विद्यालय हाङ्मासुलीमा गरिने भएको छ ।

वडा नम्बर ५ को जालपा माध्यमिक विद्यालय र सरस्वती आधारभूत विद्यालयमा २८ र २९ गते शिविर संचालन गरिने साथै ३० गते र चैत्र १ गते वडा नम्बर ४ को सिंहदेवी माध्यमिक विद्यालय फूएतप्पा र विष्णु माध्यमिक विद्यालय फूएतप्पामा हुने भएको छ भने २ र ३ गते ३ नम्बर वडाको सल्लेरी आधारभूत विद्यालयमा र पालिकाको केन्द्र रहेको स्थान सिंहदेवी माध्यमिक विद्यालय आमचोकमा अन्तिम दिन समापन गरिने कार्यालयले तालिका सार्वजानिक गरेको छ ।

उक्त शिविरको उद्घाटन कार्यक्रम पालिकाका एमआइएस अपरेटर तोयानाथ सारु मगरको अध्यक्षतामा छिमेकि जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत निर्मल तुम्रोकको समेत विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा अतिथि तुम्रोकले घटना दर्ता सम्बन्धिका कानुनी जटिलता र अपरिहार्यता बारे प्रकाश पारेका थिए ।

१ नम्बर वडा कार्यालयका सचिव तिलरुपा राईले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रममा सेवाप्रदायका संस्थाका संचालक पिताम्बर आचार्य साथै सोही संस्थाबाट दर्ता सहयोगीको रुपमा सुमन अधिकारी,सागर लामिछाने र सुवास कटुवाल लगायत कार्यालयका कर्मचारी सिताराम पौडेल,रोनी मगर,दिपेश राई,बम बहादुर राई,जेष्ठ अभिभावक कृष्ण बहादुर लिम्बु र वडा सदस्य बालकृष्ण भट्टराईको उपस्थितिमा उद्घाटन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *