September 18, 2026

माटो परीक्षण प्रयोगशालाले किसानलाई सहज

0

वालिङ, 

स्याङ्जाको वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरेको छ । माटो परीक्षणका लागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालामा लैजानुपर्ने बाध्यता हटाउँदै नगरपालिकाले कार्यालय परिसरमै आधुनिक प्रविधिसहितको माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

माटोमा रहेको उर्वराशक्तिमा ह्रास आउन नदिने र उर्वराशक्तिलाई जोगाई राख्न प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने छ । “पछिल्लो समय माटोमा विभिन्न किसिमका रासायनिक मल तथा विषादीको प्रयोग गर्ने क्रम बढेको छ”, उहाँले भन्नुभयो, “जथाभावी रासायनिक मल तथा विषादीको प्रयोगका कारण माटो बिग्रिन गई उत्पादन घट्दै गएकाले माटोको उपचार तथा संरक्षणका लागि आधुनिक प्रविधिको प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याएका हौं ।”

नगरपालिकाले प्रयोगशालामा प्रयोग हुने औजार, उपकरण तथा रसायन खरिद गरेर ल्याएको छ । सोमबारबाट सञ्चालनमा आएको प्रयोगशालाबाट निःशुल्करुपमा किसानले ल्याएको माटोको नमूना परीक्षण गरिदिने व्यवस्था मिलाइएको छ ।

डिजिटल माटो परीक्षण मिनिल्याब सञ्चालनमा आएसँगै माटोमा रहेको पिएच, ईसी, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, सल्फर, जिङ्क, आइरनलगायतका १४ प्रकारका खाद्य तत्वको जाँच गरिने कृषि विकास शाखा प्रमुख सुभासचन्द्र अर्यालले बताउनुभयो ।

“सुरुआती चरणमा किसानले ल्याउनुभएको माटो निःशुल्करुपमा जाँच गरी प्राप्त नतिजाका आधारमा माटोको सुधारका लागि आवश्यक परामर्श दिन्छौं”, शाखा प्रमुख अर्यालले भन्नुभयो, “नगरका १४ वटै वडामा पुगेर किसानलाई माटोको नमूना कसरी लिने भन्ने तरिका प्रदर्शन गरी अभ्यस्त बनाइसकेपछि माटो परीक्षण सेवालाई थप नियमित र प्रभावकारी ढङ्गले अगाडि बढाउनेछौं ।”

उक्त प्रयोगशालाबाट माटोमा भएका विभिन्न १४ वटा खाद्य तत्वको डिजिटल प्रविधिबाट यथार्थ विवरण प्राप्त हुने भएकाले पनि छिटोछरितो र प्रभावकारी हुने शाखा प्रमुख अर्यालले बताउनुभयो । माटोमा रहेका विभिन्न खाद्य तत्वको अवस्थाबारेमा जानकारी पाई माटोको उपचार तथा संरक्षण गर्न सहज हुने विश्वास वालिङ ८ का किसान हरिप्रसाद बगालेले बताउनुभयो ।

“माटो परीक्षण गर्न पहिला पोखरा लैजानुपर्ने बाध्यता थियो”, बगालेले भन्नुभयो, “अब वालिङमै प्रयोगशाला सञ्चालनमा आएसँगै आफूजस्तै धेरै किसान लाभान्वित हुनेमा म विश्वस्त छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *