September 16, 2026

मुलुकको रक्षा र पूर्वाधार विकासमा नेपाली सेनाको भूमिका

0

नेपालका चार सुरक्षा निकाय मध्ये नेपाली सेना सबैभन्दा बढी व्यावसायिक, तालिम प्राप्त र जनताको आशा र विश्वासको धरोहरको रूपमा रहेको छ । नेपाली सेना जनताको आस्था–भरोसाको केन्द्र र एकताको प्रतिकको रूपमा चिरपरिचित छ । नेपाली सेना इतिहास, गौरवमय परम्परा, उच्चस्तरको अनुशासन, अराजनीतिक चरित्र, एकताको भावना, अविच्छिन्न सांगठनिक लक्ष्यबाट निर्देशित रहँदै आएको छ ।

कुशल व्यावसायिकीकरण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भरपर्दो, विश्वसनीय र व्यावसायिक फौजका रुपमा स्थापित सेनाले राष्ट्रिय स्तरमा आर्जन गरेको उत्कृष्ट छवि र इतिहासका आधारमा यसप्रतिको विश्वासमा बढोत्तरी भएको छ । यतिबेला राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, सरकारका विभिन्न निकायसँगको समन्वय, योजना, रणनीतिक दूर दृष्टिसहित सेनाअघि बढिरहेको आजको परिवेशमा सेनाको आधुनिकीकरणको प्रक्रिया अघि बढिरहेको छ ।

मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता कायम गर्नु सेनाको परम्कर्तव्य हो । सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डताको संरक्षण, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकताको प्रबद्र्धन र राज्यले सुम्पेका विकास निर्माणका काममा दत्तचित्त र समर्पित रहेको सेनाका सम्बन्धमा मुलुकमा द्वन्द्वकालमा धेरै नकारात्मक धारणा बनेको थियो । आफ्नो कर्तव्यपथमा अडिग रही नेपालको संविधान २०७२ ले सुम्पिएको विशिष्ट जिम्मेवारी पूरा गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार रहेको सुरक्षा निकाय सेना कुनै दलप्रति निस्पृह रही मुलुक र मुलुकवासीको हितलाई आफ्नो सर्वोत्तम लक्ष्य मानेको छ ।

पुर्खाले रचेको सुनौलो र गौरवमय इतिहासलाई जीवन्त राख्न नेपाली सेना समर्पित रही कर्तव्यपथमा अघि बढिरहेको छ । नेपाली सेनाले जनचाहना अनुरूप परिवर्तन र परिमार्जन हुँदै आएको राज्य सञ्चालन प्रणालीलाई स्वतःस्फूर्त रूपमा आत्मसात् गर्दै संविधान प्रदत्त जिम्मेवारी बहन गर्न निःस्वार्थ त्याग, बलिदान र योगदानले सेनाको विशिष्ट छवि अक्षुण्ण बनाउँदै आएको छ ।
दश वर्षे जनयुद्धका समयमा माओवादी जनमुक्ति सेना र नेपाली सेनाका बीच युद्धका बेला मानवअधिकार पालनामा कमी भएका कुराहरू अहिले पनि उठिरहेका छन् । मुलुकको स्वतन्त्रता र शान्तिसुरक्षाका लागि नेपाली सेना अहोरात्र क्रियाशील भइरहेको छ । मुलुकको लोकतान्त्रिकरणका लागि सेनामा पनि लोकतान्त्रिकरण आवश्यक छ । सेनाले बगाएको रगत पसिनाले राष्ट्रिय स्वाधीनता, अखण्डता कायम राख्न अहम् भूमिका खेलेको तथ्य इतिहासको पानामा स्वर्णिम अक्षरले कुँदिएको छ ।

वीरपुर्खाको त्याग, समर्पण, बलिदान, कर्तव्यपरायण, अटल राष्ट्रभक्ति, जीवन्तता र गौरवमय इतिहास रहेको सेनाभित्र अहिलेको विश्वव्यापी परिस्थिति, आन्तरिक सुरक्षा चुनौति, नेपालको छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध र त्यसले निम्त्याउने विभिन्न किसिमका तरङ्गलाई विश्लेषण र अध्ययन गर्न सक्षम नेतृत्व छ । नेपाली सेना संयुक्त राष्ट्रसंघ अन्तर्गत संसारका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्तिसेनाको रूपमा भूमिकामा पनि रहँदै आएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको देशको प्रतिनिधित्व गर्दै उच्च आत्मविश्वासका साथ विश्व शान्तिका लागि नेपाली सेनाले खेलेको भूमिका निकै उच्च छ ।

नेपाली सेनाको इमान्दारिता, कर्तव्यनिष्ठता, साहस र वीरताका कारण आज पनि नेपाल विश्वमा उत्तिकै परिचित छ । पहिलो विश्वयुद्धताका जर्मन सम्राट कैजर विलियमले भनेका थिए– ‘म मेरा सेनालाई विश्वका जुनसुकै सेनासँग लडाउन रत्तिभर पनि डर मान्दिन, तर गोर्खाली (नेपाली) सेनाको नाम सुन्नासाथ मेरो मुटु थर्कन्छ ।’ बहादुरी, समर्पण, इमान र मेहेनतमा विश्वमै सुप्रसिद्ध नेपाली सेना सदैव प्रतिष्ठित रहँदै आएको छ । नेपाली सेनाले नेपालको शान्ति प्रक्रियाका निम्ति देखाएको सकारात्मक भूमिकालाई विश्वजगतले प्रशंसाका आँखाले हेरेको छ । एकातिर नेपाली सेना राष्ट्रको सुरक्षाका लागि अहम् भूमिकामा छ भने अर्कोतर्फ मुलुकमा पूर्वाधार विकासमा यो संस्थाको महत्वपूर्ण योगदान रहँदै आएको छ । विभिन्न ठाउँमा बाटोघाटो, पुल, विद्यालय भवन र अस्पताल बनाउन नेपाली सेना सदैव अग्रिम मोर्चामा छ । नेपाली सेनाको मनोबल उच्च बनाउन, साधन स्रोतले सुसज्जित गर्न, प्रविधिको उपयोगद्वारा आधुनिक सेना निर्माण गर्न राज्यले पनि बिना पूर्वाग्रह सहयोग गर्न आवश्यक छ ।

विगतमा नेपाल पटक–पटक द्वन्द्वको चपेटाबाट गुज्रेको छ । आफ्नो कर्तव्य पालनाका क्रममा जानेर वा नजानेर भएका गल्तीका आधारमा द्वन्द्वसँग सम्बन्धित मुद्दामा नेपाली सेना तानिनु हुँदैन । तर, मानवअधिकारका विश्वव्यापी मान्यताबाट हामी अलग हुन त सक्दैनौं । तर, नेपाली सेनामा मानव अधिकार सम्बन्धी शिक्षालाई पाठ्यक्रममै राखेर शिक्षण र प्रशिक्षण गर्ने क्रम शुरू भएको छ र यसबाट मानव अधिकार तथा मानवीय कानूनको परिपालना संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गरी परिपालना गराउने कार्यमा नेपाली सेनाभित्र जागरण शुरूवात भएको मान्न सकिन्छ । मानवलाई मानवीय मूल्य र मर्यादाका साथ मानव भएर बाँच्नका लागि नभई नहुने न्यूनतम् आधारभूत अधिकारहरूको संग्रह नै मानव अधिकार हो । सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्यस्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन ।

मानव मात्रले पाउने विश्वव्यापी रुपमा लागू हुने वा मान्य हुने अधिकार मानव अधिकार हो । मानव अधिकार अन्तर्राष्ट्रिय सन्धि सम्झौताबाट सिर्जना हुन्छ । मानव अधिकारको विश्वव्यापी घोषणपत्र मानव अधिकारलाई स्थापित गर्ने र दरिलो पार्ने एकमात्र आधार हो । कुनै पनि देशको भौगोलिक सीमाभित्र मात्र लागू हुने, त्यो देशको संविधानद्वारा घोषित हुने हक नै मौलिक हक हो । अर्थात् देशको मूल कानूनको रुपमा रहेको संविधान नै मौलिक हक सिर्जना गर्ने एकमात्र आधार हो ।

मानव अधिकार सबै व्यक्ति वा नागरिकलाई समान रुपमा प्राप्त हुन्छ । यसमा व्यक्तिलाई प्राप्त हुने वा नागरिकलाई मात्र प्राप्त हुने भनेर विभेद गरिएको हँुदैन । केही मौलिक हक देशका नागरिकलाई मात्र प्राप्त हुने र केही हक त्यस्तो देशमा बसोबास गर्ने सम्पूर्ण व्यक्तिहरुलाई प्राप्त हुने गरी तोकिएका हुन सक्दछन् । मानव अधिकार विश्वभरि सबैलाई समान रुपमा लागू हुने हुँदा अलि बढी फराकिला स्वरुपका तथा आधारभूत प्रकृतिका हुन्छन । मौलिक हक देशको सीमाभित्र मात्र लागू हुने हुँदा देशको परिवेश अनुकुलका, सीमित दायरा समेटेका हुन्छन् । नेपाली सेनाभित्र शुरू गरिएको मानव अधिकार शिक्षाले संविधान प्रदत्त हक–अधिकार उपभोग गर्ने कार्यमा नागरिकलाई सहयोग गर्न आफ्ना सकल दर्जालाई शिक्षा प्रदान गर्दछ ।

राज्यव्यवस्था अनुरूप सेनाको संगठन, संरचना र सुदृढीकरणमा फरक पर्दछ । राज्यव्यवस्थामा आएको परिवर्तनले सेनालाई अवश्य नै प्रभाव पार्दछ । तर, व्यावसायिक संगठनको रूपमा स्थापित संस्थाको लक्ष्यमा केन्द्रित हुन र अर्जुनदृष्टिमा केही पनि फरक पार्दैन । मुलुकको सर्वाङ्गीण हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा र एकताका लागि नेपाली सेनाले राजनीतिक आग्रह र प्रभावबाट अलग रहेर काम गर्दै आएको छ । राजतन्त्रको रक्षाकवच बनेको आरोप नेपाली सेनामाथि थियो, तर नेपाली जनताको भावना र लोकसम्मतीलाई आत्सात गर्दै सेनाले तटस्थताको भूमिका निर्वाह गरिरहेको छ । कर्तव्यनिष्ठ संगठनको रूपमा प्रतिष्ठित नेपाली सेनाको विरासत कायम रहने र मुलुकको रक्षा तथा पूर्वाधार निर्माणको काममा सदैव कटिबद्ध भएर समर्पित भावका साथ आफ्नो कर्तव्यपथमा अघि लम्किरहनेमा विश्वास गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *