September 19, 2026

पूर्वी नाकाबाट विस्फोटक पदार्थ बरामद

0

झापा,

पूर्वी नाकाबाट बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थ ओसार पसार हुने गरेको तथ्य फेला परेको छ। मंगलबार पूर्वी नाकाबाट नेपाल भित्र्याउने तयारी भइरहेको अवस्थामा सशस्त्र प्रहरीले विस्फोटक पदार्थ बरामत गरेको हो।

सशस्त्र प्रहरी बल दुई नम्बर गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम भण्डारीका अनुसार कमरसियल डेटोरेन्ट ८० थान र नेपोलाइट ९१ लोला बेवारिसे अवस्थामा फेला परेको हो।

यो पूर्वी नाकास्थित मेची खोलाको नेपाल–भारत सीमास्तम्भ ९०/१ र ९०/२ मा फेला पारिएको भण्डारीले बताए। ‘पछाडि बोक्ने झोला बालुवामा गाडिएको अवस्थामा थियो,’ उनले भने, ‘झोलाभित्र प्लास्टिक र कपडाले बेरेर राखिएको थियो।’

प्रहरीका अनुसार यो विस्फोटक पदार्थ भारतबाट ल्याइएको हो। एक व्यक्तिले दिएको सूचनाका आधारमा विस्फोटक पदार्थ फेला पारिएको प्रहरीले जनाएको छ। ‘एकजना व्यक्तिले स्थानीयलाई झोलामा ब्याट्री छ नाका कटाइदिनु भनेर अह्राए,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, ‘उनले झोलामा हेर्दा विस्फोटक पदार्थ देखेपछि प्रहरीलाई खबर गरे। यो मुख्य नाकाबाट ल्याइएको हैन। मेची नदी भएर ल्याइएको हो।’

विस्फोटक पदार्थ ल्याउने व्यक्ति नेपाली नै हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।-नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *