September 21, 2026

नदी नियन्त्रण योजना कार्यान्वयनमा ढिलासुस्ती

0

म्याग्दी, 

कालीगण्डकी नदी नियन्त्रण योजना कार्यान्वयनमा भएको ढिलासुस्तीले म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार कटानको जोखिममा परेको छ ।

हिउँद सकिन लाग्दा समेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण आयोजनाको काम शुरु भएको छैन् । नदी नियन्त्रण योजनामा भएको ढिलाईले बेनीको कालीपुल, गणेशटोल, संगमचोक र मंगलाघाट क्षेत्र कटानको जोखिममा परेको स्थानीयबासी टंक हमालले बताउनुभयो ।

“कालीगण्डकीमा गत असार १ गते आएको बाढीले बेनीको संगमचोक पछाडी र कालीपुल बसपार्क क्षेत्रमा यसअघि निर्माण भएको करिब १०० मिटर ग्यावीयन पर्खाल भत्काएर कटान गरेको थियो,” उहाँले भन्नुभयो “हिउँदको शुरुआतमै हुनुपर्ने नदी नियन्त्रणको काम मध्य माघ हुँदा समेत सुरसार नहुँदा बर्खामा बाढीले कटान गर्ने जोखिम बढेको छ ।”

गर्मी शुरु भएपछि नदीमा पानीको सतह बढ्ने, बाढी आएपछि काम अधुरो हुने र लगानी खेर जाने जोखिम हुन्छ । नदी नियन्त्रण योजनालाई छिटो शुरु गराउन नगरपालिकाले ताकेता गर्नुपर्ने हमालको भनाइ छ ।

जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा रहेको बेनी बजारमा एक हजार भन्दा बढी घरधुरीको बसोबास छ । रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले बेनी बजारमा नदी नियन्त्रणको काम गर्दै आएको छ ।

ठेक्का सम्झौता भइसकेकाले केही दिनमै ठेकेदारले बेनीको कालीपुल र संगमचोकको कालीगण्डकी किनारमा नदी नियन्त्रणको काम शुरु गर्ने परियोजनाका इञ्जिनियर कृष्ण विश्वकर्माले बताउनुभयो ।

“दुई ठाउँमा तीन सय ४० मिटर पक्की पर्खाल निर्माण गर्न ठेक्का सम्झौता भइसकेको छ,” उहाँले भन्नुभयो “यसपाली रु. चार करोड रुपैयाँ बजेट बिनियोजन भएको बेनी बजार संरक्षण आयोजनाको रु. नौ करोडको ठेक्का लगाएर थप बजेटका लागि उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयमा प्रस्ताव गरेका छौ ।”

इञ्जिनियर विश्वकर्माका अनुसार कालीपुल र संगमचोक पछाडि म्याग्दी जेसिजको भवन नजिकै १७०÷१७० मिटर पर्खाल निर्माण गर्न ठेक्का सम्झौता भएको छ । परियोजनाले गत वर्ष म्याग्दी बेनी तर्फ रु. तीन करोड र पर्वत बेनीतर्फ रु. दुई करोड बराबरको नदी नियन्त्रणको काम गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *