September 17, 2026

हिउँदे वर्षाले किसान हर्षित

0

महोत्तरी,

यसपालि हिउँदमा पानी परिरहेपछि किसानले राहत महसुस गरेका छन् । पुस सकिनै लाग्दा बुधबार महोत्तरीका अधिकांश ठाउँमा भएको वर्षाले किसानलाई खुशी दिएको हो । यसअघि दुई साता पहिले पनि पानी परेको थियो ।

पुस सकिनैलाग्दा परेको पानीले जाडो निकै बढाए पनि बालीनाली हुर्कन राहत पुग्ने किसानको विश्वास छ । “पुस सकिनैलाग्दा परेको पानीले जाडो त निकै बढायो”, भङ्गाहा–४ रामनगरका किसान कुशेश्वर यादव भन्नुहुन्छ, “तर हिउँदे बालीलाई भने अहिले परेको पानीले निकै राहत दिन्छ ।” मङ्सिर र त्यसअघि रोपिएको उखु, दलहन र फलपूmलका बोटलाई हिउँदे वर्षा अमृतजस्तै हुने यादवको भनाइ छ ।

पछिल्लो वर्षाले क्रमशः हुस्सु बढ्ने र मौसम सफा हुँदै जाने किसान बताउँछन् । “अब माघ सुरु हुने हो, माघ लागेपछि घाम तात्दै जाने गर्छ”, बर्दिवास–९ पशुपतिनगरका ८० वर्षीय वयोवृद्ध किसान युगेश्वर ठाकुर भन्नुहुन्छ, “पछिल्लो वर्षाले क्षणिक जाडो बढाए पनि केही दिनभित्रै मौसममा सुधार ल्याउँला ।”

यसपालि हिउँदमा पुसभित्रै दुई साताको फरकमा पानी परेको छ । हल्का हिउँदे वर्षाले जग्गाको चिस्यान लामो समयसम्म रहने किसान बताउँछन् । हिउँदे वर्षाले उखु, फलपूmल र तरकारी बाली र गहुँ हुर्काउन, बढ्न र गाँजिन मद्दत गर्ने किसानको विगत अनुभव छ । सामान्य छिटफुटे हिउँदे वर्षा माघ, फागुन र चैतमै पनि एक÷एक पटक हुनु उखु, वैशाखी तरकारी बाली र फलपूmलका लागि राम्रो हुने किसान बताउँछन् ।

हिउँदे वर्षाले आँप, लिचीसहितका फलमा मज्जर (मञ्जरी, पूmल) राम्रो लाग्ने किसान बताउँछन् । पछिल्लो वर्षाले फलपूmलका रुखका पात, नयाँ मुना पखालिएका छन् । किरा, फट्याङ्ग्राको प्रकोप पनि वर्षाले घटाउने किसानको विश्वास छ । अब आँप, लिची र गृष्मकालीन फलमा राम्रो मज्जर लाग्ने, मधुवासहितका रोगको प्रकोप कम हुने आश पालिएको गौशाला–११ का किसान अरुण कुशवाहा बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *