September 21, 2026

पल्मोनरी हाइपरटेन्सन न्यूनिकरण गर्न स्वास्थ्य शिविर

0

अर्जुनधारा।

पल्मोनरी हाइपरटेन्सन एसोसिएसएन नेपालको आयोजना र मारवाडी महिला मञ्च तथा मारवाडी युवती मञ्च बिर्तामोडको संयोजनमा एक दिवसीय मुटु रोग परीक्षण शिविर बुधबार झापाको अर्जुनधारामा सम्पन्न भएको छ ।

अर्जुनधारा–७स्थित अरुणोदय आधारभूत विद्यालयमा आयोजित उक्त शिविरको उद्देश्य मुटु रोगका कारण पल्मोनरी हाइपरटेन्सन अर्थात् फोक्सोमा उच्च रक्तचाप हुने अवस्थालाई न्यूनिकरण गर्ने रहेको पीएचए नेपालका मेडिकल कोअर्डिनेटर डा. रोशन खतिवडाले जानकारी दिए ।

पीएचए नेपालकी उपाध्यक्ष एवम् मारवाडी महिला मञ्चकी अध्यक्ष नीलम अग्रवालको अध्यक्षतामा आयोजित शिविरमा पीएचए नेपालका मेडिकल कोअर्डिनेटर डा. खतिवडासँगै शिविरका संयोजक डा. जर्ज बुसजंग कटुवाल र डा. सञ्चित ढकालले सहभागीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

एक सय २४ जना विद्यार्थीसहित जम्मा एक सय ६० जनाले सेवा लिएकामध्ये नौ जनालाई थप परीक्षणको लागि बिर्तामोडस्थित सञ्जिवनी अस्पतालमा पठाइने पीएचए नेपालकी उपाध्यक्ष अग्रवालले जानकारी दिइन् ।

त्यसैगरी शिविरका सहभागीहरुलाई निःशुल्क औषधीसँगै पल्मोनरी हाइपरटेन्सन विरुद्ध जनचेतना फैलाउने किसिमको जनचेतनामूलक पर्चाहरु वितरण गरिएको मारवाडी युवती मञ्चकी संयोजक रीचा अग्रवालले बताइन् ।

यस अघि काठमाण्डौं, मोरङ, सोलुखुम्बु, भोजपुर, सिन्धुपाल्चोकलगायत २२ जिल्लामा सञ्चालन गरिएको शिविरबाट सात–आठ हजार जनाले सेवा लिएको पीएचए नेपालका मेडिकल कोअर्डीनेटर डा. खतिवडाले जानकारी दिए । जसमध्ये ३ देखि ४ प्रतिशत पल्मोनरी हाइपरटेन्सन र ८ प्रतिशत मुटु रोगी फेला परेको थियो ।

शिविरमा भेटिएका पाँच देखि १५ वर्षसम्मका विद्यार्थीहरुका लागि भने संस्थाले निःशुल्क उपचार गर्ने र त्यस उमेर समूह भन्दा माथिका बिरामीहरुका लागि भने उपचारको लागि आवश्यक परामर्श दिने पीएचए नेपालकी कोषाध्यक्ष बिमला बस्नेत थापाले बताइन् ।

उनको अनुसार आगामी दिनमा कोही पनि बालबालिका पल्मोनरी हाइपरटेन्सन जस्तो प्राणघातक रोगको शिकार हुन नपरोस् भन्ने लक्ष्य लिई हाल अमेरिकामा रहेको डा.चुँडामणी खनालले पीएचए नेपालको स्थापना गरेको हो ।

सोही शिविरमा मारवाडी महिला मञ्च र मारवाडी युवती मञ्चले विद्यार्थीहरुको लागि दिवा खाजा र शिविरका सहभागीहरुलाई मास्क वितरण गरेको थियो । यता सोही दिन पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धाममा रहेको गुरुकुलमा पनि उक्त सेवा दिइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *