के विश्व हामीलाई चुम्न चाहन्छ ?

विश्वका विभिन्न देशहरुले नेपालको तारिफ गरेको हामी सुन्छौं । अनि नेपाली भएर जन्मिएकोमा गौरवान्वित हुन्छौं । हामीलाई गौरवान्वित बनाउने कुरा प्राकृतिक सम्पदाहरू नै हुन् । सम्पदा सभ्यताका परिचायक हुन् । हामीले साधारण ठान्ने गरेका हाम्रा सम्पदाले आश्चर्यजनक शैलीबाट इतिहास र संस्कृतिको सम्झना गराइरहेका हुन्छन् । साधारण जनसमुदायले धार्मिक आस्था र श्रद्धाभावले पुज्ने गरेका मठ–मन्दिर, दरबार र मूर्ति लगायतका सम्पदा इतिहास र संस्कृतिका लागि पुरातात्विक आधार हुन् । यस्ता सभ्यताका धरोहर हाम्रो मात्र नभएर समग्र विश्व सभ्यता कै अमूल्य निधि बन्न पुगेका छन् । विश्वका सबै देशहरूले अरु कुरामा जीत हाँसिल गरेता पनि प्रकृतिले अमूल्य उपहारहरू दिएको देश नेपालका प्राकृतिक सम्पदाहरू माथि भने अझैँ पनि विजयी प्राप्त गर्न सकेको छैनन् ।
परिचयमा संकृतिको महत्व
हामीसँग हिमाल, तराई र पहाड छ । यी विभिन्न भूगोलमा भिन्न प्रकारका सौन्दर्यहरू अवस्थित छन् । यहाँ थुप्रै जातजातिका मानिसहरूको बसोबास रहेको छ र उनीहरू सबै आफ्नै भाषा, धर्म, संस्कृति र पहिरनमा रमाएर बसेका छन् । जसले गर्दा हाम्रो देशमा भिन्नता छ भन्ने प्रमाणित हुन्छ ।
यति मात्र नभई विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा छ भने संसार कै सानो चरा काँडेभ्याकुर नेपालमा नै पाइन्छ । यी हिमालहरू मेचीदेखि महाकालीसम्स शृंखलाबद्व रुपमा नेपालीको चिनारी दिँदै शिर ठाडो पारी उभिएका छन् । सबै कुराबाट धनी देश नेपालमा विभिन्न नदी–नालाहरू, पाथीभरादेखि केचना, पूर्वी इलामको चियादेखि पश्चिमको स्याउ, भादगाउँले टोपीदेखि भोजपुरे खुकुरी, दश वटाभन्दा बढी हिमशिखरहरू, वनपाखाहरू, छङ्छङ् गर्ने खोलाहरू आदि हाम्रा प्राकृतिक सम्पत्ती छन् ।

बसोबासोमा जसरी बिभिन्नता छ त्यसरी नै नेपालको पूर्वदेखि पश्चिमसम्मको माटोको अवस्था यस्तो छ कि यहाँ अनेकौं किसिमको हावापानी भएकाले विभिन्न प्रकारका खाद्यपदार्थहरुको उत्पादन हुने गर्दछ । यहाँ बाहै्र महिना काम गर्न सकिन्छ । संसारका अनेकौं देशहरुमा जे–जति उत्पादन हुन्छ थोरबहूत यही भू–भागमा उत्पादन हुने गर्दछ । यी सबै कुराको उपस्थितीमा पनि हामी भने अरु देशको तुलनामा कमजोर छौं । ताकी हामीले हाम्रा सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गरेर पर्यटक आकर्षण गर्न सकेका छैनौं । यो विडम्वना हो ।
पूर्खाबाट सिक्नुपर्ने पाठ
काष्ठकलाका साथसाथै हाम्रा पुर्खाले कपेका कलाकारिता र खोपेका अभिलेख पक्कै पनि हाम्रा लागि गौरवपूर्ण इतिहास बनेका छन् । छिना र बसिलाको सहायताले पाषाणशीलामा जीवन्त दार्शनिकता भर्नु अहिले पनि हाम्रा लागि कल्पनाभन्दा बाहिरका विषय हुन् भन्नु अत्योक्ति नहोला । तर, आकाश चुम्दै गरेका तले मन्दिरका गजुर, स्तूपाका त्रयोदश भुवन र शिखर शैलीका मन्दिरका शिखरहरुले यहाँको धार्मिकता, दार्शनिकता र सांस्कृतिक चेतनाको सौन्दर्य अभिव्यक्त गरिरहेका छन् । हाम्रा पूर्खाबाट हामीले यो कला र साधनाको पाठ सिक्न योग्य छ । साथै सभ्यताका सर्जक र स्रष्टाहरुको अनन्त साधना अनि धैर्यलाई समेत बोधार्थ गरिरहेका छन् ।
शास्त्रीय र वास्तुदर्शनको आधारबाट निर्मित प्राचीन शहरहरु एक प्रकारले तान्त्रिक साधनाका मण्डलाकार अवधारणमा प्रश्तुत भएको मानिन्छ । वैदिक दर्शन र तान्त्रिक विश्वास अनि यसको अभ्यासले समेत सम्पदाको संरचनामा प्रभावकारी भूमिका खेल्यो । आध्यात्मिक र धार्मिक दृष्टिकोणबाट अध्ययन गर्दा हाम्रा सम्पदामा सांकेतिकरूपमा सम्पूर्ण विश्व ब्रह्माण्डलाई नै अभिव्यक्त गरिएको हुन्छ ।
एउटै मन्दिरमा धर्म र दर्शनको समग्रतालाई अभिव्यक्त गर्न सक्ने हाम्रा अग्रज स्रष्टाहरुको सिर्जनालाई कुनै पनि कोणबाट अवमूल्यन गर्न मिल्दैन । कलाप्रेमी र संस्कृति पुजारीका साधनारत् हस्तशिल्पीहरुले यसै दर्शनको उजागर गरेका छन् । हाम्रा सम्पदा सनातन वैदिक र बौद्ध धर्म र दर्शनका प्रतिकात्मक चिन्तनका अभिव्यक्ति हुन् । साथसाथै यहाँको प्रकृतिपूजक जाति र तिनका चेतनाले समेत यहाँको सम्पदाको संरचनामा विशेष योगदान दिएको पाइन्छ ।
ब्रामण, खस आर्य, कोच, सन्थाल र मंगोलियन मूलका भनी स्वीकार गरिएका यहाँका आदिवासी र जनजातिबीचको धार्मिक समन्वयबाट नेपाली सभ्यताले निश्चित आकार ग्रहण गरेको पाइन्छ । यस प्रकारको सांस्कृतिक ऐकीभावको भावार्थ हाम्रा सम्पदामा अभिव्यक्त भएकै छन् । यसको एकाकार रुप उधौली, उभौली, दशैं–तिहार जस्ता पर्वहरुमा प्रष्टसँग देख्न सकिन्छ । त्यसो त सम्पदाहरुमा मात्र होइन कि यहाँका कथा, लोककथा, अनुश्रुति, आदिम विश्वास र आख्यानहरुमा समेत आफ्ना जातजातिको गौरवपूर्ण इतिहास र विशेषगरी हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित समन्वयात्मक दर्शनलाई व्यक्त गर्ने किंवदन्तीहरु यद्यपि सुन्न पाइन्छन् ।
मरुभूमिमा पानी बेच्ने योजना
नेपाल पानी नै पानीको देश हो । नेपालको पानीलाई राम्ररी सिँचाई र विद्युत् उत्पादनमा सदुपयोग गर्न सकियो भने नेपाल खाद्यान्नको भण्डार हुन सक्दछ । नेपालको पानीबाट आठ करोड किलोवाटभन्दा बढी विद्युत् उत्पादन गरेर आफ्नो देश र छिमेकी देशहरुमा हरभरा बनाउन सकिन्छ । नदी, खोला र झरनाहरुले गर्दा यस भू–भागलाई प्रकृतिको देनको रुपमा लिइन्छ । हामीले हामीसँग भएको सिंगो भू–भागको दुईतिहाईभन्दा बढी पानीलाई समयसापेक्ष सदुपयोग गर्ने योजनामा मात्र पनि जाने हो भने विदेशी मुलुकले हामीलाई तेल र पेट्रोल बेचे झैं हामी हाम्रो पानी मरुभूमिका मुलुकमा सहज बेच्न सक्छौं ।
उर्वरभूमि, सन्तुलित वातावरण र सुरक्षात्मक पहाडी किल्लाले समेत नेपाल सभ्यताको निर्माणमा विशेष योगदान दिएको मानिन्छ । यहीँका रैथाने आदिवासी र विभिन्न देशवाट बसाइँ सरी आउने आगन्तुकबीचको सहिष्णु सांस्कृतिक सम्बन्धले समेत नेपालको सम्पदाको सिर्जनामा समन्वयात्मक दर्शन दिएको छ । मिथकीय अनुश्रुतीहरुमा जनक सभ्यताको स्वर्णिम अध्यायको कल्पना गर्न सकिन्छ भने अर्कोतिर लुम्बिनी र कपिलवस्तु जस्ता पुरातात्विक क्षेत्रहरुमा बौद्धकालीन सभ्यताको साथसाथै यसभन्दा पहिले १३औं शताब्दी ईशापूर्वका मानव सभ्यताको पाइला परेको तथ्य अन्वेषकहरुले उल्लेख गरेका छन् । यसको खोज र अनुसन्धान गर्न सकिन्छ ।
विश्व हामीलाई चुम्न चाहन्छ
हामीसँग विश्व लोभिएको छ । हाम्रो सुन्दरतालाई विश्वले लोभिएर हेरिरहेको छ । मुलुकका विकसित र ठूला भनिएका देशहरु सामान्यभन्दा सामान्य शर्तमा हामीलाई चुम्न चाहन्छ । विश्व सम्पदा सूचीमा यसअघि परेका १० वटा धरोहरले पनि प्रष्ट पार्छन् कि नेपाल कति सुन्दर छ भनेर । विश्व क्षेत्रफलको हिसाबले करिब ०.०३ प्रतिशत मात्रै ओगटेको नेपालमा विश्व सम्पदा सूचीमा छानिएका विश्वका छ सय ३० मध्ये १० वटा नेपालका सम्पदा परेका थिए । हाम्रो देशका प्राचीन शहरहरु र राज्य स्थापनाको आदि कारणमा धार्मिक र पौराणिक आख्यान समेत गाँसिएर आएका छन् हाम्रा सम्पदाहरुमा ।
राष्ट्रियता भन्ने कुरा अर्काले बचाइ दिने होइन, आफैंले बचाउने कुरा हो । अर्काले सहयोग दिन सक्छ, तर बचाइ दिँदैन । नेपाल अहिले गरीब छ किनकि हामी नेपालीहरुले नै नेपाललाई प्रकृतिले दिएका मौलिक स्रोत र सम्पदाहरुलाई योजनाबद्ध रुपले परिचालन गर्न ढिला गरिरहेका छौं । सामाजिक अगुवा र सरकारको नेतृत्व गर्ने राजनीतिक दलहरुको ध्यान यसलाई संरक्षण र सम्बद्र्धन गर्नेतर्फ केन्द्रित हुनुका साथै विश्वको नेपालप्रति खिचिएको दृष्टीलाई कायम राख्न आवश्यक छ ।
