September 17, 2026

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–६ स्थित मामाङ्गेमा रहेको लिम्बू सङ्ग्राहलय ओझेलमा परेको स्थानीयबासीले बताएका छन् । देशकै पहिलो लिम्बू जातिको सम्पूर्ण जीवन समेट्ने गरी स्थापना गरिएको सो सङ्ग्राहलय अहिले संरक्षण तथा सम्बद्र्धनको अभावमा गुमनाम हुन लागेकोप्रति चिन्ता प्रकट गर्दैै स्थानीयबासीले त्यसको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण समेत गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशिष्टता भएको देश हो । यही विशिष्टताभित्र पूर्वी नेपालका पहाडी जिल्ला ताप्लेजुङ, पाँचथरमा लिम्बू जातिको बाहुल्य रहेको थियो । अहिले भौतिक विकास, सेवा र सुविधाका कारण मानिसहरुको बसाइँ सराइको क्रम तीव्र हुँदै गएको छ । पहाडी क्षेत्रबाट तराईमा, गाउँबाट शहरमा, शहरबाट राजधानीमा र राजधानीबाट भएसम्म विदेश नै पलायन हुने मानसिकता र व्यवहारले हाम्रा प्राचीन संस्कृति, संस्कार, परम्परा लगायतका मौलिक विशेषताहरु लोप हुने अवस्थामा पुगेका छन् ।

वि. सं. २०५७ सालमा स्थापित सो सङ्ग्राहलय प्रथमतः संस्कृतिले समृद्ध लिम्बू जातिको गौरवको धरोहर हो । त्यसपछि स्थानीय क्षेत्र हुँदै देश कै पहिचान स्थापित गर्ने विशिष्ट सम्पदा हो । लिम्बू जातिका मौलिक चाड, पर्व, पहिरन, संस्कारसँग सम्बन्धित वस्तुहरु, घरेलु सामग्री, युद्धमा प्रयोग गरिएका हातहतियार एवम् जन्म–मृत्यु संस्कारमा आवश्यक पर्ने सामग्री सङ्ग्राहलयमा सङ्ग्रहित छन् । यस्ता किपतय सामग्री लिम्बूजातिकै नवपुस्ताका लागि नै अपरिचित हुन थालेको छ । यही समस्या अन्य जात–जातिका परम्परागत तथा मौलिक सांस्कृतिक पहिचानका विषयमा पनि छ । बढ्दो भौतिकताको प्रयोग, आधुनिक सेवा–सुविधा उपभोगको लालसा र अत्याधुनिकताको भूतले हाम्रा विशेषतासँगै प्राचीन वस्तुहरु लोप हुने अवस्थामा पुगेका छन् ।

मानव सभ्यता क्रमिक विकास र परिवर्तन हुँदै आएको व्यवहारको परिणाम हो । सभ्यताको प्रारम्भसँगै मानव जातिका खानपिनदेखि रहनसहन, पहिरन, रितिरिवाज र संस्कारमा परिवर्तन हुँदै आएका छन् । तर, प्राचीनता नै हाम्रो पहिचानको आधार हो भन्ने बिर्सिँदा अहिले जातीय अस्तित्व नै विलय हुने अवस्थामा पुगेको छ जो कसैको हित र पक्षमा छैन । ऐतिहासिक महत्व भएको लिम्बू जातिको सम्पूर्ण सभ्यता, परम्परा र संस्कृतिलाई एकैथलोमा संग्रह गरिएको सो सङ्ग्राहलय मात्र होइन सबै जातजाति र तिनका जातीय चिनारी, संस्कार र संस्कृतिहरुको संरक्षण गरिनु पर्दछ । यसका लागि देश रर जनताका प्रतिनिधिका रुपमा रहेका संस्था, निकाय तथा तीनै तहका सरकार र जनप्रतिनिधिहरु सचेत र गम्भीर हुनुपर्दछ । भाषा सकियो भने संस्कार सकिन्छ संस्कार सकियो भने जाति र जातिसँगै नेपालको विशिष्टता पनि लोप हुन्छ भन्ने सत्यलाई आत्मसात गरौं । मौलिकता र मौलिक परम्पराको संरक्षण र सम्वद्र्धन गर्न सबै एकीकृत ढङ्गले लागौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *