ह्वीलचियर फोहोर उठाउन प्रयोग
पार्थ मण्डल
झापा, भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा राखिएको ह्वीलचियरहरू फोहोर मैला उठाउने साधनको रुपमा प्रयोग गरिरहेको पाइएको छ ।
विमानस्थलमा अपाङ्गता, अशक्त र बिरामी भएका हवाई यात्रुहरूको सेवासुविधाका ह्विलचियर अनिवार्य राखिएको हुन्छ । तर, चन्द्रगढी विमानस्थलमा ती ह्वीलचियरहरूलाई त्यहाँ कार्यरत विमानका कर्मचारीहरूले फोहोर मैला उठाउने साधनको रुपमा प्रयोग गर्न थालेपछि नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका अध्यक्ष धनजुजु श्रेष्ठले आपत्ति जनाएका छन् । भद्रपुर नगरपालिका–८ निवासी श्रेष्ठको घर चन्द्रगढी विमानस्थलसँगै टाँसिएको छ ।

भद्रपुर–काठमाडौँ ओहोरदोहोर गरिरहने केन्द्रीय अध्यक्ष श्रेष्ठ विमानस्थल जाँदा ह्वीलचियर प्रयोग गर्दै आइरहेका छन् । विमानस्थल पुग्दा उनको नजर विमानस्थलको गेट नजिकै राखिएको ह्वीलचियरमा पर्छ । ‘ह्वीलचियर पछाडिपट्टिको जालीमा कुचो, फोहोर मैला उठाउने प्लास्टिकको भाँडो कोचिएर राखेको देखे र त्यसपछि ह्वीलचियरको फोटो खिचे’– केन्द्रका अध्यक्ष श्रेष्ठले भने– ‘विमानस्थलमा राखिएको ह्वीलचियरको दुरुपयोग गर्नु निन्दनीय कार्य हो, यस्ता कार्य तुरुन्त बन्द गरिनुपर्छ ।’ उनले भने– ‘असोज ५ गतेका दिन म काठमाडौँ फर्किदा एउटा जेट विमानका कर्मचारीले विमानभित्रबाट निस्किएको फोहोर मैला ह्विलचियरमा राखेर लैजाँदै गरेको अवस्थामा देखेँ, त्यसपछि त्यो फोटो पनि मैले खिचेर सुरक्षित राखेँ ।’ उनले दुवै फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै भनेका छन्– ‘चन्द्रगढी विमानस्थल भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूको सेवाका लागि राखिएको ह्वीलचियरको दुरुपयोग सम्बन्धमा थप फोटो तथा भिडियो हाम्रा नेटवर्कका साथीहरूबाट प्राप्त भइरहेको छ ।

यस फोटोमा हवाईजहाजको फोहोर मैला ह्वीलचियरमा उठाई रहेको प्रष्ट रूपमा देखिन्छ । अविलम्ब यस प्रकारका दुरुपयोग बन्द गराउनका लागि सरोकारवाला तथा जिम्मेवार कार्यालयहरूलाई ध्यानाकर्षण गराउँदछु ।’ ‘फोहोर मैला उठाउने ह्वीलचियरलाई कर्मचारीले पुनः अपाङ्गता, अशक्त र बिरामी भएका हवाई यात्रुलाई प्रयोग गर्न दिइरहेको प्रति आक्रोश पोख्दै उनले भने– ‘मानवता भन्ने केही हुँदैन, फोहोर मैला उठाउने ह्विलचियर किन अपाङ्गता भएका यात्रुलाई ओसारपसार गराउन प्रयोग गरिन्छ ? विमानस्थलले त फोहोर मैला उठाउन अरू नै स्रोतसाधन प्रयोग गर्नुपर्ने होइन र ?
२०७८ असोज १४ गतेको राशिफल ।

