खनालले इलाम–१ आउने नैतिक हैसियत गुमाए : अध्यक्ष राना
विमल दहाल, इलाम।

नेकपा एमाले इलामका अध्यक्ष एवम् प्रदेश नम्बर–१ का पूर्व भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री राम रानाले झलनाथ खनालले इलाम क्षेत्र नम्बर–१ मा जनतासंग आउने नैतिक हैसियत गुमाएको दाबी गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपाल माई नगरपालिका वडा नम्बर–१ ले आयोजना गरेको विस्तारित भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष रानाले अब खनाल भोट माग्दै इलाम आए जनमत नलिई काठमाडौं फर्कने ठोकुवा गरे। जनताले नेकपा एमालेको सुर्य चिन्हमा दिएको जनमतलाई झलनाथ खनालले अपमान गरेको भन्दै सुखि नेपाली, सम्वृद्ध नेपाल बनाउन नेकपा एमालेको युवा संघ सक्षम रहेको धारणा राखे।
अध्यक्ष रानाले १४ हजार सडक र धनीपुर्जा पाउने नागरिकको अधिकार समेत बर्तमान परमादेश सरकारले खारेज गरेको आरोप लगाए। उनले भने “अहिलेको सरकार गतिछाडा हो । नेपाली जनता भारतले मार्दै गर्दा एक शब्द पनि बोल्न नसक्ने” ।

बिशेष अतिथि राष्ट्रिय युवा संघ नेपाल इलामका अध्यक्ष अरुण बरालले आम युवाहरुको भरोसा एमाले भएकाले युवा संघ र युथ फोर्समा समाहित हुन आग्रह गरे । एमाले जिल्ला कमिटी सदस्य तथा माईका मेयर दिपककुमार थेवेले युवा शक्ति भएकाले युवालाई सहि सदुपयोग गर्यो भने देश निर्माणको मार्गदर्शन गर्न सकिने बताए । उनले राम्रा काम लाई समर्थन र खराब कामलाई आलोचना गर्न युवालाई आग्रह गरे ।
युवा संघ नेपाल माई–१ का अध्यक्ष कृष्ण राईको अध्यक्षता सचिब संगम सुब्बाको सञ्चालन रहेको कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य रत्नबहादुर अधिकारी, बिष्णुमाया आचार्य, नगर कमिटी सह–संयोजक मेघनाथ गिरी, सचिव हेम लायो मगर, युवा संघ माई अध्यक्ष कुमार लिम्बु लगायतले बोलेका थिए।
बिस्तारित भेला तथा प्रशिक्षण कार्यक्रममा बिक्रम फागोको अध्यतामा ५१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल माइ–१वडा कमिटी र चन्द्रबहादुर राईको अध्यक्षतामा २१ सदस्यीय युथ फोर्स वडा कमिटी गठन भएको छ ।
यसैबीच बिभिन्न पार्टी परित्याग गरी ११ जना नेकपा एमालेमा प्रवेश गरेका छन्। नव प्रवेशीलाई अध्यक्ष राना, मेयर थेबे, युवा संघ अध्यक्ष बराल लगायतले स्वागत गरेका थिए ।
