September 26, 2026

विकास निर्माणमा अग्रसर कोशी–४ का जनप्रतिनिधि

0

इनरुवा,

कोशी गाउँपालिका–४ मा विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर कार्य भइरहेको छ । आफू निर्वाचित भएर आएदेखि नै विकास निर्माणका योजना प्राथमिकताका साथ पूरा गर्दै आएको वडाध्यक्ष अमिन मियाँले बताउनुभयो । यहाँका सडक, कलभर्ट, मठमन्दिर, विद्यालय भवन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको उहाँको भनाइ थियो ।

सुशासनलाई प्राथमिकता दिइएको, योजना तर्जुमा, बजेट बाँडफाँड र नीति तथा कार्यक्रम कार्यान्वयनमा पनि समान सहभागिता गराइएको वडा कार्यालयले जनाएको छ ।

वडाभित्रका १३ टोलका नागरिकलाई योजना निर्माणदेखि सम्पन्न नभएसम्म प्रत्यक्ष सहभागी गराउँदै आएको स्थानीयवासी विद्यानन्द यादवले बताउनुभयो । उक्त गाउँपालिका साबिकका चार गाविसलाई मिलाएर आठ वडामा विभाजन गरिएकामा वडा नं ४ भने अरू वडाको तुलनामा नागरिक मैत्री र सुशासन मैत्री भएको उहाँको भनाइ थियो ।

विकास निर्माणको काममा नागरिकसमेत सन्तुष्ट रहेको वडाध्यक्ष मियाँले बताउनुभयो । वडामा सेवा लिन आएका सबै नागरिकलाई समान व्यवहार गरी सेवा प्रवाह गरिएका कारण नागरिकमा कुनै पनि असन्तुष्टि नरहेको वडा सचिव देवनारायण लहुटियाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नागरिक सहभागिताका साथै नागरिक वडापत्र र नीति तथा कार्यक्रम कार्यान्वयन हुँदै जाँदा स्थानीय सरकारप्रति जनताको विश्वास बढेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *