भद्रपुरका व्यापारी थप आन्दोलित
पार्थ मण्डल,
झापा ।

भद्रपुरका व्यापारी तथा कारोबारी दुई दिनदेखि शान्तिपूर्ण आन्दोलनमा उत्रिएपछि भद्रपुर भन्सार कार्यालयको कामकाज ठप्प हुनुका साथै राजश्व सङ्कलन प्रभावित भएको छ ।
राजश्व अनुसन्धान कार्यालय इटहरीको हस्तक्षेप र ज्यादतीविरुद्ध उनीहरू आन्दोलित बनेका हुन् । आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि भन्सारको कामकाजसँगै राजश्व सङ्कलन प्रभावित बनेको भद्रपुर भन्सारका प्रमुख भन्सार अधिकृत प्रमोद पौडेलले बताए ।
सामानको घोषणा गर्न कुनै पनि व्यापारी नआइदिँदा भन्सारको मासिक लक्ष्य पु¥याउन कठिन हुन सक्ने उनको भनाइ छ । यता आन्दोलित व्यापारी तथा कारोबारीले बिहीबार भन्सार कार्यालयको गेट अगाडि नाराबाजी गरे । प्ले कार्ड बोकेर उनीहरूले राजश्व अनुसन्धानको दादागिरी र हस्तक्षेप बन्द गर, व्यवसायीलाई काम गर्न देऊ, व्यवसायीलाई अनावश्यक दुःख नदेऊ जस्ता नाराबाजी गरेका थिए ।
भन्सारमा राजश्व तिरेको प्रज्ञापनपत्र र बिल बिजक देखाउँदा–देखाउँदै राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले मङ्गलवार दिउँसो ४ बजे दुई पोका कपडा नियन्त्रणमा लिएको थियो । अनुसन्धान अधिकृत रमेश ओझाको नेतृत्वमा खटिएको टोलीले भन्सारदेखि ५० मिटर दूरीभित्रै ठेलाभेनसहित सो कपडा नियन्त्रणमा लिएपछि व्यापारी तथा कारोबारीले प्रतिकार समेत गरेका थिए ।
अंशु इन्टरप्राइजेजका प्रोप्राइटर अंशु मित्तलको नाममा बिलविजक, भन्सार प्रज्ञापनपत्र र भिसिटिएस समेत जारी गरी व्यापारी रञ्जीत रायाले दुई पोका कपडा लैजाँदै गर्दा राजश्वको टोलीले नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय भद्रपुरमा राखेकोले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ ।
भन्सार तिरेको सामानको राजश्व अनुसन्धान अधिकृत ओझाकै अगाडि गणना गर्दा कुनै अनियमितता नभएको र सो सामान राजश्वले छाड्न नमानेको पीडित रायाले गुनासो गरे । ‘सामानमा कुनै गल्ती भए म आफैं इटहरी जान तयार थिएँ’– उनले भने– ‘सामान गन्दा भन्सार तिरेको भन्दा पनि परिमाण कम भेटियो, मेरो र भन्सारको कुनै गल्ती देखिएन ।’ राजश्वले खातापाता लिएर आउनुपर्छ, अनि कानूनी प्रक्रिया अघि बढाएर सामान छाड्छु भन्दै आएको उनको भनाइ छ ।
यता आन्दोलित व्यापारी तथा कारोबारीले बुधवार झापा उद्योग वाणिज्य संघ र भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयलाई ज्ञापन पत्र बुझाएका थिए । राजश्व अनुसन्धान कार्यालयले यहाँका व्यापारीलाई पटक–पटक अनावश्यक दुःख दिइरहेकोले सहजीकरण गरिदिन भन्दै उनीहरूले सो ज्ञापन पत्र बुझाएका हुन् । पीडित व्यापारीले लिखित रूपमै ज्ञापनपत्र बुझाएपछि बिहीबार सोही विषयमा झापा उद्योग वाणिज्य संघमा पदाधिकारीहरूको बैठक बसेको थियो । बैठकले माथिल्लो निकायलाई तत्काल ध्यानाकर्षण गराउने र राजश्व अनुसन्धान कर्मचारीको ज्यादती र हस्तक्षेपविरुद्ध आवाज उठाउने लगायतको विषयमा छलफल भएको संघका अध्यक्ष नवराज पनेरुले बताए ।
राजश्व कार्यालयले पटक–पटक पूर्वाग्रह पूर्वक भद्रपुर भन्सारलाई केन्द्रित गरी व्यापारी दुःख दिने काम गरिरहेको पनेरुले आरोप लगाए । यसभन्दा अघि पनि राजश्वले सामान लोड भएको कालो प्लेट भएका गाडीलाई लगेर थन्क्याइ दिने, व्यवसायीलाई अनावश्यक दुःख दिने गरेको भन्दै पनेरुले कपडाको परिमाण ठीक हुँदाहुँदै पनि राजश्वले खातापाता मगाउने काम गरेको घटना अत्यन्त निन्दनीय रहेको बताए ।
उनले भने –यस्ता कार्य अविलम्ब रोक्नुपर्छ, नत्र यहाँका व्यवसायीले भन्सारबाट हुने सबै कामको जिम्मा राजश्व अनुसन्धानलाई दिन बाध्य हुनेछन् । ‘यस बारेमा तत्काल प्रधानमन्त्री र अर्थमन्त्री कार्यालयको ध्यान जानुपर्छ’ –उनले भने । भद्रपुर भन्सारमा काम गर्ने अधिकांश व्यापारी निम्न वर्गका छन् । उनीहरूसँग आफ्नो सवारीसाधन छैन । राजश्वले सामानसहित कालो प्लेट भएको सवारीसाधन नियन्त्रण लिएर राखिदिने डरका कारण थप समस्या उत्पन्न भएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमियाले बताए ।
‘राजश्वका कर्मचारीले नियन्त्रणमा लिएका सामान ठीक छ वा छैन घटनास्थलमै भन्सार वा आन्तरिक राजश्व कार्यालयसँग सहजीकरण गरिदिएको भए यस्तो विवाद उत्पन्न हुँदैन थियो’– उनले भने । राजश्व अनुसन्धान कार्यालयका कर्मचारीले भद्रपुर भन्सार कार्यालयका कर्मचारीको काम कारबाहीमाथि विश्वास नगर्दा त्यसको असर यहाँका व्यापारी र कारोबारीले भोग्दै आइहेका छन् ।
राजश्वले पटक पटक पूर्वाग्रह ढङ्गले भन्सार तिरेको सामानमाथि हस्तक्षेप गर्दै आइरहेको यहाँका व्यापारीको भनाइ छ । सानो समस्या ठूलो बनाइदिने राजश्व अनुसन्धानको कामप्रति यहाँका व्यापारी त्रसित छन् ।त्यसैले यस्ता समस्याबाट छुटकारा पाउन चाडपर्वको बेला पनि आन्दोलित हुनु परेको स्थानीय व्यापारी भीमसिंह राजपुतले बताए ।
