September 26, 2026

नेपाली कांग्रेस १४ औं महाधिवेशन : १५ पालिकामा निर्वाचन तयारी पूरा

0

विर्तामोड।

एकसय ३१ वटै वडामा सफलतापूर्वक निर्वाचन सम्पन्न भएसँगै झापाका पालिका तहको निर्वाचनका लागि नेपाली कांग्रेस झापा र जिल्ला निर्वाचन समिति झापाले सम्पूर्ण तयारी पूरा गरेको छ ।

असोज ९ गते हुने पालिका तहको निर्वाचनका लागि झापाका १५ वटै पालिकामा तोकिएका मतदान अधिकृतहरुलाई पार्टीको विधान, निर्वाचन निर्देशिका र अनुसूचीहरुबारे बिहीबार प्रशिक्षण सम्पन्न भएको बताइएको छ ।

नेपाली कांग्रेस झापाका सभापति एवम् कार्यक्रमका सभापति उद्वव थापाले निर्विवाद रुपमा वडा अधिवेशन सम्पन्न गर्ने वडा तहका सम्पूर्ण मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई धन्यवाद दिँदै पालिका तहको निर्वाचन पनि स्वच्छ, पारदर्शी, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आग्रह गरे ।

क्रियाशील सदस्यता वितरण र वडा तहको निर्वाचन शान्तिपूर्ण रुपमा भएपछि सबै जिल्ला एवम् केन्द्रमा समेत झापा उदाहरणीय बनेको चर्चा गर्दै सभापति थापाले स्वस्थ प्रतिष्पर्धाका लागि सम्पूर्ण नेता कार्यकर्तालाई आह्वान समेत गरे । लोकतान्त्रिक पद्धति अनुरुप भएको निर्वाचनमा हारजित सामान्य प्रक्रिया भएको भन्दै उनले निर्वाचनपछि पार्टी एकढिक्का हुने विश्वास ब्यक्त गरे ।

प्रशिक्षणका क्रममा पालिका तहको निर्वाचनमा समावेशी सहभागिता सम्बन्धी ब्यवस्थासहितको अनुसूची, निर्वाचन निर्देशिका र विधानका विषयमा उठेका सवालहरुको जवाफ जिल्ला निर्वाचन अधिकृत सुबोधबाबु चिलवालले दिएका थिए ।
निर्वाचन सम्पन्न गराउन आफू माध्यम मात्रै भएको बताउँदै जिल्ला निर्वाचन अधिकृत चिलवालले शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न पालिका तहमा खटिएका अधिकृतहरुलाई आग्रह गरे ।
नेपाल शिक्षक संघका अध्यक्ष नेत्र खरेलले सहजीकरण गरेकोे कार्यक्रममा नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, पूर्व अध्यक्ष कृष्ण हुमागाँई, डेमोक्रेटिक लयर्स एसोसिएसन झापाका अध्यक्ष यज्ञप्रसाद अधिकारी, लगायतको सहभागिता रहेको थियो ।

यसैबीच पालिका तहको निर्वाचन सम्पन्न गराउन झापाको मेचीनगरमा हरिप्रसाद अधिकारी, अर्जुनधारामा लक्ष्मीप्रसाद शिवाकोटी, बुद्धशान्तिमा बसन्त नेपाल, विर्तामोडमा नारायणप्रसाद पौडेल, कनकाईमा खगेन्द्र खरेल, हल्दिबारीमा बोधकृष्ण पौडेल, बाह्रदशीमा अमृतबहादुर बुढाथोकी, भद्रपुरमा मञ्जु दाहाल, कचनकबलमा मित्र खनाल, झापामा जगन्नाथ राजवंशी, शिवसतासीमा प्रकाश भण्डारी, कमलमा कुमार खतिवडा, दमकमा बबुवान दाहाल, गौरादहमा सुरेशकुमार पोखरेल, र गौरीगञ्जमा गोविन्द घिमिरेलाई मतदान अधिकृत तोकिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार मतदान अधिकृत र सहायक अधिकृतहरुले असोज ८ गते निर्वाचन स्थल तय गर्दै ब्यवस्थापन गर्नेछन् ।

त्यस्तै ९ गते विहान १० बजे मतदाता नामावली प्रकाशन, १२ देखि २ बजेसम्म उम्मेद्वारी दर्ता, २ बजेदेखि २ः३० बजेसम्म उम्मेद्वारीमाथि दावी विरोधको कार्यतालिका सार्वजनिक गरिएको छ । त्यस्तै उम्मेद्वारको नामावली प्रकाशन ३ बजे, उम्मेद्वारी फिर्ता ३ बजेदेखि ६ बजेसम्म र अन्तिम नामावली प्रकाशन ६ः३० बजे तय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *