September 24, 2026

चारआली खण्डमा रियाभ रि–कन्स्ट्रक्सनको काम शुरु

0

मेचीनगर। 

झापाको मेचीनगर नगरपालिकाको पहलमा मेची राजमार्ग अन्तर्गत नगरको प्रमुख व्यापारिक केन्द्र चारआली खण्डमा ‘रियाभ रि–कन्स्ट्रक्सन’ को काम शुरु भएको छ । मंगलबार नगरप्रमुख विमल आचार्य तथा उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा निर्माण कार्य शुरु भएको जानकारी गराएका हुन् ।

नगरपालिकाले निर्माणस्थलमा रहेका विद्युत् तथा टेलिफोनका तार, खानेपानी विस्तारका लागि विछ्याइएका पाइपसहित रुख र विभिन्न बिरुवाहरुको व्यवस्थापन गरेर निर्माणस्थल खाली गरे लगत्तै डिभिजन सडक कार्यालय दमक झापाले निर्माणको काम शुरु गरेको हो ।

पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि ८२ फिट छाडेर चारआली उत्तरतर्फ ५ सय ३५ मिटरसम्म ‘रियाभ रिकन्स्ट्रक्सन’को काम हुने डिभिजन सडक कार्यालय दमक झापाका इञ्जिनियर अनुप साउदेनले जानकारी दिए । २० मिटरसम्म कालोपत्रे चौडाई र डेढ मिटर दुई साइडमा नाला हुने उनको भनाइ छ ।

२०७८ जेठ ६ गते निर्माण कम्पनी समता कन्स्ट्रक्सन प्रालि विर्तामोड झापासँग असार मसान्तसम्ममा काम सक्ने सम्झौता भएपनि कोभिड १९ लगायत अन्य कारणले समयमै निर्माण शुरु गर्न नसकेपछि अहिले समयअवधि थप गरेर निर्माण कार्य शुरु गरिएको समता कम्पनीका प्रवन्ध निर्देशक मनोज उप्रेतीले जानकारी दिए । उनले चार महिनाभित्रमा पूरा गर्ने लक्ष्यका साथ काम अघि बढाइएको र चार्डपर्व र मौसमका कारण केही समय रोकिए पनि पाँच महिनाभित्रमा निर्माण सम्पन्न हुने बताए ।

योजनाको लागत मूल्य अभिवृद्घि कर भ्याटसहित ३ करोड ३८ लाख रुपैयाँ रहेको छ । यो योजनाका लागि मेचीनगरले विगत दुई वर्षदेखि सम्बन्धित पक्षसँग समन्वय गर्दै पहल गरिरहेको नगरप्रमुख आचार्यले बताए । ‘यो योजनाका लागि मेचीनगरले निक्कै कसरत गरेको छ ।

पटक–पटक सम्बन्धित पक्षसँग समन्वय गरेको छ । योजना सम्पन्न भएपछि धेरै कुराको फाइदा हुने छ–नगरप्रमुख आचार्यले भने –सडक विस्तार हुने वित्तिकै दुघर्टनामा कमी, व्यवसायीलाई सहज हुने र चारआलीको मुहार नै फेरिने छ । उपप्रमुख उप्रेतीले योजना सम्पन्न गर्न गुणस्तरमा ध्यान दिन निर्माण पक्षलाई सुझाव दिइन् ।

समयमै निर्माण कार्य सम्पन्न गर्न तथा निर्माण कार्यलाई सहज बनाएर निर्माण कम्पनीसँग समन्वय गर्न सुदर्शन बरालको अध्यक्षतामा ११ सदस्यीय ‘रियाभ रि—कन्स्ट्रक्सन’ उपभोक्ता समिति निर्माण गरिएको कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *