September 24, 2026

कांग्रेस १४ औँ महाधिवेशन : झापा गापा सभापतिमा सागीरथ

0

झापा ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत भएका छन् । पन्ध्र पालिका रहेको झापा जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका पहिलो भएको छ ।

कांग्रेस जिल्ला सभापति उद्धव थापाका अनुसार गणेशलाई निर्विरोध सभापति भएको घोषणा गर्न मात्र बाँकी रहेको छ । ‘सर्वसम्मत सभापतिमा गणेशजीलाई चयन गरियो’– उनले भने– विधि र प्रक्रिया बाँकी छ । असोज ९ गते उनलाई आधिकारिक सभापति भएको घोषणा गर्छौं ।

सो गाउँपालिकाको सातै वडामा यसअघि सर्वसम्मत वडा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भइसकेका छन् । आदिवासी मधेशी समुदायको बाहुल्य रहेको सो पालिकामा गणेशको नेतृत्वमा गाउँ कार्य समिति नै सर्वसम्मत भएको कांग्र्रेसका क्षेत्रीय सभापतिसमेत रहेका झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए ।
गणेशको नेतृत्वमा चयन भएको गाउँ कार्य समितिको उपसभापतिमा सकिचन ठाकुर र सुमन प्याकुरेल, सचिवमा सञ्जय गणेश र प्रताप विश्वकर्मा र सहसचिवमा सफिउल्ला अन्सारी छन् । सभापति सर्वसम्मत भएका उनी यसअघि क्षेत्रीय सदस्य थिए ।

अन्य पालिकामा गाउँ तथा नगर सभापतिका लागि तीनभन्दा बढी आकांक्षीले उम्मेदवारी घोषणा गर्दै मत मागिरहेका छन् । झापा गाउँपालिकामा वडा तहको निर्वाचनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा वडाका सभापतिको संयुक्त भेलामा गाउँ सभापति पदमा गणेशको एक मात्र नाम आएको थियो ।

सर्वसम्मत गाउँ सभापति चयन भएका गणेशले आफू २०४६ सालदेखि पार्टीमा क्रियाशील भएको र २०४८ सालमा क्रियाशील सदस्यता पाएको बताए । उनले आफू कुनै गुटमा नलागेको जनाउँदै आम कार्यकर्ताले सर्वसम्मत गाउँ कार्य समिति चयन गरेर पार्टी एकढिक्का भएर सहमतिमा अघि बढेको सन्देश दिन चाहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *