September 24, 2026

आगलागीमा परी घाइते अर्जुनधाराका एक दम्पतीको उपचारको क्रममा मृत्यु

0

झापा, 

आगलागीमा परी घाइते भएका अर्जुनधारा नगरपालिका-७ पुष्पलाल मार्गका ४२ वर्षीय रोमनाथ खनाल र उनकी श्रीमती ३८ वर्षीया दुर्गाको मृत्यु भएको छ।

उनीहरूको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सामाजिक अभियन्ता कमल पोख्रेलले जानकारी दिए।

उनका अनुसार रोमको सोमबार राति पौने ८ बजे र दुर्गाको राति ११:१५ बजे मृत्यु भएको हो। मृतक खनाल दम्पतीको काठमाडौँमै अन्त्येष्टि गरिने पारिवारिक सहमति भएको उनको भनाइ छ ।

आगलागीमा नै घाइते भएका उनीहरुका छोरा पंकजको अवस्था भने सामान्य रहेको जनाइएको छ। पंकजलाई अस्पतालले भोलि डिस्चार्ज दिने उनले बताए।

गत भदौ २६ गते शनिवार साँझ ग्यास सिलिन्डर लिक हुँदा खनालको घरमा आगजनी भएको थियो। आगलागीमा परी खनाल परिवारका चार जना घाइते भएका थिए।

रोम, उनकी श्रीमती दुर्गा, छोरा पंकज र आमा मंगलादेवी घाइते भएका थिए। तीनजना गम्भीर भए पनि मंगलादेवी सामान्य घाइते भएकी थिइन्।

घाइतको झापामा उपचार सम्भव नभएपछि विराटनगर पठाइएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको थियो। रोमका आमा, एक छोरा र एक छोरी छन्। आमा र छोरी अहिले छिमेकीको घरमा बसिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *