होटलमा ९३ लाख नक्कली नोट !
वीरगञ्ज ।

बाराबाट प्रहरीले जाली नोटको कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिका–३ बलुवा टोल बस्ने २४ बर्षीय सुनिलकुमार राम, ३६ वर्षीय रवीन्द्रकुमार चौधरी, बारा करैयामाई गाउँपालिका–५का ३६ वर्षीय विशेश्वरप्रसाद चौधरी, बारा कलैया उपमहानगरपालिका–९ रामपुर टोल बस्ने २४ बर्षीय सागर शुक्ला र कलैया उपमहानगरपालि–९ टेङरहर टोल घर भई हाल बारा बिश्रामपुर गाउँपालिका–५ ईटियाही टोल बस्ने २५ वर्षीय राजु कुशवाह रहेका छन् ।
तारा इन होटलमा कोठा भाडा लिइ केही दिनदेखि नेपाली नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नक्कली नेपाली रूपैयाँ १ हजार दरका २५ थान नोट, बा ९१ प ७४३५ नम्बरको मोकरसाइकल र बा १४ च ९३८२ नम्बरको स्कारपियो गाडीसमेत बरामद गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी सुनिल रामको घरमा तत्काल खानतलासी गर्दा नेपाली रूपैयाँ १ हजार दरको नोट आकारको प्रतिगड्डी १०० थान भएको जम्मा ९३ गड्डी कागज, नेपाली रूपैयाँ १ हजार दरको नोट ३९ थान र वीरआर०५कियू ४६१० नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल र प्रदेश २–०३–००१प ४२६५ नं.को २२० सीसी पल्सर मोटरसाइकल बरामद गरिएको प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
