September 22, 2026

त्रिफलाले मनायो १५६ औं मोतीजयन्ती

0

चन्द्रगढी।

साहित्यकार, प्रध्यापक, शिक्षक, प्रशासक, बुद्धिजीवी, समाजसेवी व्यक्तिहरुको सहभागितामा १५६ औं मोतीजयन्ती समारोह एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

कोभिड –१९ महामारीको अवस्थामा गुगल मिटमार्फत त्रिफला राष्ट्रिय पुस्तकालय, धुलाबारी मेचीनगरको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा झापा, इलाम, उदयपुर, काठमाण्डौं, भारतको सिक्किम, दार्जीलिङ, शिलगढी र आसामसम्मका नेपाली साहित्यकार एवम् साहित्यानुरागीहरुको सहभागिता रहेको थियो । त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश पोखरेल फलाहारीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वक्ताहरुले मोतीराम भट्टको पूर्ण कदको शालिक हालसम्म त्रिफला राष्ट्रिय पुस्तकालयमा मात्र रहेको उल्लेख गर्दै पुस्तकालयको विकासमा सहयोग पु¥याउने र योगदान दिने व्यक्तिहरुको प्रशंसा गरेका थिए ।

प्रमुख अतिथि भारतीय एकाडेमी पुरस्कार प्राप्त साहित्यकार मुक्ति उपाध्याय बरालले मोतीराम भट्टको साहित्यिक एवम् सामाजिक योगदानको चर्चा गर्दै मोतीराम भट्टको योगदानलाई सबैले कदर गर्नु पर्ने बताए । मोतीराम भट्टका विभिन्न कविता र गजलहरुको स्मरण र वाचन समेत गरेका बरालले नेपाली साहित्यको श्रीबृद्धिको कामना गरेका थिए । विशिष्ट अतिथि प्रा. डा. गोविन्दराज भट्टराईले त्रिफला राष्ट्रिय पुस्तकालय नेपालको पूर्वी भागमा रहेर नेपाल लगायत सिक्किम, दार्जीलिङ, खरसाङ, शिलगढी, आसामसम्मकै वासस्थानयुक्त पुस्तकालय निर्माण सम्पन्न भइरहेकोले यसलाई सबैको प्रयासमा पूर्वको साहित्यिक केन्द्र बनाउन सकिने धारणा व्यक्त गरे ।

अर्का अतिथि डा. तुलसी भट्टराईले भानुभक्तलाई परिचित गराउने मोतीराम भट्ट प्रतिभाशाली बहुमुखी व्यक्तित्व रहेको चर्चा गर्दै सन्तानले हजुरबा, जिजुबा आमाहरुलाई श्रद्धाभक्ति गरेझैं हामीले पनि नेपाली साहित्यका जिजुबा ठानेर उहाँहरुको स्मरण गर्दै आशीर्वाद लिनु पर्ने धारणा राखेका थिए । सेवानिवृत्त पूर्व प्रजिअ एवम् क्षेत्रीय प्रशासक टीकाराम अर्यालले मोतीराम भट्टप्रति श्रद्धाञ्जली व्यक्त गर्दै त्रिफलाले यस अवसरमा पुरस्कार बितरणसहित उत्कृष्ट साहित्य सेबा गरेको बताए ।

नेपाली साहित्यकार तथा सर्जक जीवनहरि शर्मा (इलाम)ले मोतीराम सम्बन्धी कविता वाचन थिए भने उदयपुरका साहित्यकार पुण्य कार्कीले मोतीराम भट्टको बहुआयमिक प्रतिभाको चर्चा गरे । कार्यक्रममा सिक्किमका टीका ढुङ्गेल रटन, दार्जीलिङका ऋषिकुमार राई, प्रज्ञानकेन्द्र काठमाण्डौंका अध्यक्ष उमा घिमिरे, तोयानाथ फुँयाल, झापाका व्यङ्ग्य कवि एवम् निबन्धकार कोमलप्रसाद पोखरेल, त्रिलोचन भण्डारी, हरिप्रसाद रिमाल, जनार्दन पोखरेल, हरिप्रसाद न्यौपाने, त्रिफला राष्ट्रिय पुस्तकालयकी महासचिव टीका सुवेदी, रामप्रसाद दाहाल लगायत सहभागी थिए ।

उपसचिव शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पुस्तकालय शाखा प्रमुख यादवचन्द्र निरौलाले शुभकामना मन्तव्य राखेको कार्यक्रममा वक्ताहरुले तीस वर्षे उमेर भित्र मोतीराम भट्टले भानुभक्तको जीवन चरित्र सबैमा परिचित गराउन समालोचनात्मक कृति रचना गरेका, नेपाली काव्य साहित्यमा श्रृङ्गारिक कविताको विकास गराएको, मोती मण्डलीका माध्यमबाट समस्यापुर्ती कविता लेखन र प्रतिभाको प्रस्फुटन गराउन मद्दत गरेको, छापाखाना तथा प्रकाशनको लागि योगदान पु¥याएको चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन तथा संयोजन उद्धव बिष्टले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *