September 21, 2026

झिलझिलेमा एमसीसी विरुद्ध विप्लव माओवादीको प्रदर्शन

0

झिलझिले,

एमसीसी खारेज गर्नुपर्ने माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले झापाको शिवसताक्षी नगरपालिकामा विरोध प्रदर्शन गरेको छ ।

नगरको झिलझिलेमा एमसीसी विरुद्ध पहिलो पटक नेकपा-माओवादी विरोधमा उत्रिएको हो । अन्य दलले एंमसिसिको विरोध गरेपनि नगरका सडकमा विप्लव माओवादीको भने पहिलोपटक भौतिक प्रदर्शन भएको हो । प्रदर्शनमा उत्रने को संख्या थोरै देखिए पनि कार्यक्रमको प्रभावकारिता भने धेरै रहेको स्थानीय प्रत्यक्षदर्शी डेगनाथ गुरागाईंले बताएका छन् ।

शिवसताक्षी नगरमा नेकपा-माओवादीको जिल्ला कमिटिले आयोजना गरेको यो कार्यक्रम बुधबार झापाका १५ वटै स्थानीय तह सहित देशै भर भइरहेको पार्टीका झापा सचिव प्रशान्त थापाले बताए । विरोध र्यालीमा एमसीसी चाहिँदैन, देश बेच्न पाइदैन, कठपुतली सरकार मुर्दाबाद, राष्ट्रघाती सरकार चाहिँदैन, वैज्ञानिक समाजवाद – जिन्दावाद, दलाल सरकार मुर्दाबाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं लेखिएको प्लेकार्ड सहित प्रदर्शनकारी ले नाराबाजी गरेका थिए ।

विरोध र्याली पछि आयोजित कोणसभामा कार्यक्रमका वक्ताहरुले एमसीसी देशबाट नै खारेज गर्नुपर्ने माग गरे । उनीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले यसकाविरुद्ध एकजुट भएर लड्नुपर्ने दलहरुलाई आह्वान गरे ।

कार्यक्रममा बोल्दै नेत्रबिक्रम चन्द्र समुह नेकपा-माओवादी झापाका कार्यालय सचिव सञ्जय राईले एमसीसी अमेरिकाले नेपाललाई दिने अनुदान नभइ नेपालमा लगानी गर्न खोजेको आरोप लगाए । उनले लगानी गर्न खोज्ने अमेरिकाले निश्चय नै नेपालबाट फाइदा लिन खोजेको दाबी गरे। ‘अमेरिकाले नेपालभित्र आम्दानीको स्रोत देखेकाले एमसीसी माध्यम बनाउन खोजेको छ, ’उनले भने ।

‘हाम्रो पार्टी कुनै पनि हालतमा एमसीसी पारित हुन नदिने र आवश्यक परे सशक्त आन्दोलनमा उत्रिन बाध्य हुनेछ । मुलुकलाई बचाउन एमसीसीको विरोधमा रगत बगाउन पनि आफूहरु तयार रहेको कार्यालय सचिव राईले बताए,’ उनले भने ।

कोणसभामा पार्टीका शिवसताक्षी नगर इन्चार्ज युद्ध झापाली लगायतले बोलेका थिए । जिल्ला सदस्य अनुकूल ले सञ्चालन गरेको कार्यक्रममा पार्टीका झापा सचिव प्रशान्तको अनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *