दाम्लो चुडाएर हिँडेका हुन् माधव नेपाल – खरेल
झापा, नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा निर्वाचन विभागका प्रमुख अग्नि खरेलले एमालेलाई जेठ २ अघिको अवस्थामा फर्काउन पार्टी केन्द्रीय कमिटी लागि परेपनि माधव नेपालले दाम्लो चुडाएर पार्टी फुटाएको आरोप लगाउनु भएको छ ।
प्रेस चौतारी झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खरेलले पार्टी जेठ २ गते अघि जाने कुरामा व्यवहारिक रुपमा कही समस्या भए त्यसलाई व्यवहारिक रुपमा नै हल गर्ने सकिने बताउनुभयो ।
जेठ २ अघि फर्कने कुरामा कुनै समस्या नरहेपनि पार्टीमा केही टेक्निकल कुराले समस्या भएको बताउँदै नेता खरेलले अगाडि भन्नुभयो – यताको अध्यक्ष हुने मान्छे उता गएको रहेछ भने के गर्ने ? त्यसकारण पार्टी भित्र देखिएका विवादित कुरा मिलाउन पार्टीको केन्द्रीय कमिटीले छुट्टै कार्यदल बनाएको छ ।
जेठ २ गते फर्कन १० वुँदे सहमति गरिएको हो भन्दै नेता खरेलले भन्नुभयो – दश वुँदे सहमति गरिएपनि माधव नेपाल दाम्लो चुडाएर हिँडेका हुन् ।
नेपाली उखानसंग माधव नेपाललाई जोडेर ‘सुनको डल्लो दिएपनि त्यसले कुरो मान्दैन’ भन्दै नेता खरेलले माधव नेपाललाई नै अगाडि राखेर १० बुँदे सहमति गरेको बताउनुभयो ।
माधव नेपालले मन बचन र कर्मले पार्टी फुटाएपनि तपाई हामी सबै मिलेर अब नेकपा एमालेलाई एकताबद्ध भएर नयाँ ढंगवाट अघि बढाउनु पर्छ भन्दै उहाँले सहिद र जनताका सपना पुरा गर्न साना तिना कुरालाई विसर्न आग्रह गर्नुभयो ।
पत्रकार सम्मेलनमा नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठकले पार्टी केन्द्रको निर्देशन अनुरुप झापा जिल्ला कमिटीका वैठकहरु आयोजना गर्न शुरु गरिएको बताउनुभयो ।
पार्टीमा देखा पर्ने समस्यालाई हल गर्न रवनि कोइरालाको संयोजकत्वमा झापामा छुट्टै कार्यदल समेत तयार गरिएको नेकपा एमाले झापाका अध्यक्ष पाठकको भनाई छ ।
नेकपा (माओवादी केन्द्र) सँग एकीकरण गर्नुभन्दा अगाडिको अवस्थामा फर्किन तयार रहनु नै जेठ २ गते अघि फर्कनु हो । नेकपा (एमाले) ले २०७५ साल जेठ २ नेकपा (माओवादी केन्द्र) संग पार्टी एकीकरण गरेको थियो ।
