September 21, 2026

मिस झापा आयोजना गर्दै वीरता जेसीज

0

बिर्तामोड।

वीरता जेसीजले मिस झापाको आयोजना गर्ने भएको छ ।

जेसीजको बोर्ड बैठकले सन् २०२१ मा मिस झापा गर्ने निर्णय गरेको महासचिव एलसी श्रेष्ठले जानकारी दिए । किशोरीहरुको अन्तरनिहित प्रतिभा उजागर गर्ने, आत्मविश्वास र सक्षम बनाउने उद्देश्यका साथ यो वर्ष पनि मिस झापा गर्ने गरेको अध्यक्ष राजीव धिमालले बताए ।

प्रतियोगितामा कक्षा १२ अध्ययनरत र सोभन्दा माथिका किशोरीहरुको सहभागिता गराइनेछ । १८ वर्षदेखि २५ वर्ष उमेर समूहका झापाका महिलाहरुले प्रतियोगितामा भाग लिन पाउने वीरता जेसीजका महासचिव श्रेष्ठले बताए ।

यसपटकको विजेताले स्कुटर पाउनुका साथै मिस नेपालमा सहभागी हुने अवसर प्राप्त गर्नेछ । जेसीजका अध्यक्ष धिमालको अध्यक्षतामा बसेको बैठकले मिस झापासँगै विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकमा निवर्तमान अध्यक्ष मिजास पोखरेलले पूर्वअध्यक्षहरुसँग छलफल गरी सन् २०२५ भित्र वीरता जेसीजले राष्ट्रिय महाधिवेशनको आयोजना गर्नुपर्ने धारणा राखेका थिए । बैठकले यसअघि वितरण गर्न बाँकी जेसी अफ द मन्थको अवार्ड समेत प्रदान गरिएको थियो ।

जसअनुसार मार्च महिनाका लागि जनसम्पर्क अधिकारी अनन्तलाल महतो, अप्रिलका लागि सदस्य मिक्की कार्की, मे महिनाका लागि खेलकुद संयोजक दीपेन धिमाल, जुन महिनाका लागि वातावरण संयोजक प्रज्ज्वल बिमली, जुलाई महिनाका लागि अन्तर शाखा संयोजक जीवनकुमार खड्का र अगस्ट महिनाका लागि कार्यकारिणी उपाध्यक्ष विकास बस्नेतलाई जेसी अफ द मन्थको अवार्ड प्रदान गरिएको महासचिव श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *