September 20, 2026

शहीदकी आमालाई मासिक १० हजार

0

भद्रपुर ।

भद्रपुर नगरपालिकाले दोस्रो जनआन्दोलनका शहीद परिवारलाई मासिक १० हजार दिने निर्णय गरेको छ ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले दोस्रो जनआन्दोलनका शहीदलाई मासिक १० हजार वार्षिक एक लाख २० हजार दिने निर्णय गरेका हुन् ।
दोस्रो जनआन्दोलनमा सेनाको गोली लागि सहादत प्राप्त गरेका भद्रपुर–६ निवासी शहीद सुरज विश्वासको माता मिना विश्वासको जीविकोपार्जन तथा औषधि उपचार खर्च बापत सो रकम दिने निर्णय गरिएको नगरका प्रमुख श्रेष्ठले जानकारी दिए । नगरपालिकाले वार्षिकरुपमा शहीद माता मिनालाई स्वास्थ्य बीमाको नवीकरण पनि गरी दिइरहेका छन् ।

शहीद सुरजका पिता शान्ति विश्वासको चार वर्ष निधन भएपछि आमालाई जीविकोपार्जन तथा औषधि उपचारमा गर्न आर्थिक समस्या भइरहेको थियो । राज्यले वार्षिक रुपमा सात हजार उपलब्ध गराउँदै आए पनि त्यो रकम अपुग भएकोले नगरपालिकाले थप रकम सहयोग गरेको जनाइएको छ । २०६३ बैशाख ६ गते सरकारी फौजको गोली लागेर उनी सुरज शहीद भएका थिए । उनी पेसाले चालक थिए ।

त्यस्तै नगर कार्यपालिकाको बैठकले मजदुरसँग नगर प्रमुख कार्यक्रम सञ्चालन गर्न विनियोजित बजेटले स्वास्थ्य बिमाको सट्टा नगर क्षेत्रका निर्माण, चिया, कारखाना र कृषि श्रमिकहरूको सेवा सुरक्षा व्यवस्थापन गर्नुपर्ने भएकोले सामाजिक शाखाबाट कार्यविधि कानून निर्माण गरी कार्यक्रम सञ्चालन गर्ने, नगर क्षेत्रमा बसोबास रहेका आदिवासी (राजवंशी) र लोपोन्मुख सन्थाल जातीको स्तम्भ लागत अनुमान तयार गरी नगरपालिकाको नयाँ भवन परिसरमा निर्माण गर्ने र हिंसापीडित तथा मानव बेचबिखन पीडित महिला बालबालिका र किशोर–किशोरीहरूका लागि अल्पकालीन सेवा केन्द्र सेफ हाउस सञ्चालनका लागि मानव अधिकारका लागि एकल महिलालाई नै निरन्तर रुपमा सञ्चालन गर्न दिने निर्णय गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *