September 19, 2026

पुरुष रुदैमा नामर्द हुदैनन् !

1

छोरा भएर पनि रुन्छन् ? छोरा मान्छे त रुन हुँदैन लाज हुन्छ नि’ ! सुन्दै टर्रो लागे पनि समग्रमा हाम्रै घर , दैलोबाट नगुञ्जिएको आवज भने हैन । समाजले शारीरिक, मानसिक र भावनात्मक ढङ्गले बलियो भनेर पुरुषको परिभाषा गरिदिएको छ तर यो परिभाषाले समाजको मानसिकतालाई यसरी पकडेको छ मानौं कि एउटा चुम्बकले फलाम पकडे जसरी ।

एउटै कोखबाट जन्मिएको छोरीले क्वा, क्वा रुँदा केही नहुने समाज अनि छोराले आँखा मात्रै रसाए आलोचनाको पात्र बनाइन्छ । समाजले त अझ पुरुषको वर्गीकरण नै गरिदिएको छ । श्रीमतीको कमाई खाए जोइटिङ्ग्रे, श्रीमतीलाई पाल्न नसके नामर्द, हरेश खाए हुतिहारा, रोए कराए आइमाई इत्यादि । एउटा पुरुषले बा–आमाको उपदेश मान्छ भने ऊ सुपुत्र हुन्छ तर त्यही उपदेश श्रीमतीको मान्छ भने उ जोइटिङ्ग्रे हुन्छ । अब मैले विवाहपछि मेरो श्रीमानको निर्देशन माने भने के म पोइटिङ्ग्रे हुन्छु त ? अह, हुँदिन !

मलाई समाजले त्यतिबेला संस्कारी भन्नेछ । सगैँमा त्यहीँ परिवारको ज्वाइँले छोरीको लुगा धोइदिए भद्र–भलाद्मी भन्दै पूजा गरिन्छ तर त्यही घरको छोरोले बुहारीलाई भान्सामा सघाए बुढीको हली भन्दै कुरा काटिन्छ । चाहे जसको गल्ती होस् दुई जोडीबीच सम्बन्धविच्छेद भए गलत केटा नै हुन्छन् । केटीले धोका पाए सबै केटाहरु उस्तैः धोकेबाज हुन्छन् अनि केटाले धोका पाए उल्टै भाग्यलाई दोष दिन्छन् । भर्खरै इण्डियामा एक ट्याक्सी चालक र एक युवतीको भिडियो सोसल मिडियामा व्यापक भएको थियो । त्यस्ता घटना त दिनानुदिन घटिरहन्छन् तर केटीलाई सहानुभूति दिनेहरुको लामो लस्कर लाग्छ भने केटालाई उल्टै नमिठा वचनहरू लगाई दुनियाँको अगाडि हात हाल्न पनि पछि परिन्न । त्यसैले भनिन्छ नि ‘नारी निर्दोष हुन्छिन् जबसम्म उसको गल्ती पुष्टि गरिन्न र पुरुष तबसम्म दोषी हुन्छन्, जबसम्म उसलाई निर्दोष साबित गरिन्न ।’ आखिर कहिल्यैसम्म जातोको मकैमा घुनसरी पुरुषहरु समाजको व्यवहारबाट पिसिरहनु पर्ने हो त ?

छोराले पढोस्, धन सम्पत्ति कमाओस्, जग्गा, जमिन जोडोस्, दिदीबहिनीको विवाह गरिदियोस्, विदेश जाओस् भन्ने आशा हुन्छ । बा–आमाले अपेक्षा राख्नु स्वभाविक हो तर आशालाई बाध्यतामा परिणत गर्नु शोषण सरह हो । पारिवारिक प्रेसर र समाजको चर्को टिका टिप्पणी सहन नसकेर आत्महत्याको बाटो, रक्सी, चुरोटको सहारा लिएको स्वयम् देखेकै छौं । छर–छिमेकमा पनि घर कहिले बनाउने, विदेश कहिले जान्छ, कसरी गरी खान्छ, फलानोले यति सुन जोड्यो, ढिस्कानोको छोरो युएस, अष्ट्रेलिया गयो भन्दै दाजेर खुब भलाकुसारी गरिन्छ । बाकसमा धन सम्पत्ति र परिवारको आकांक्षा भर्न विदेशिएको छोरो भोलि आफैं बाकसमा निर्जीव भएर फर्कंदा चाहिँ समाज लाटो भएर हेरिरहन्छ ।

अझ कति विवाहित पुरुष घर फर्कदा श्रीमती अरु कसैको अंगालोमा हुन्छिन् अनि समाज त्यतिबेला चाहिँ मौन बसिदिन्छ । सायद महिला थिइन् भने सहानुभूति दिनेको ओइरो लाग्थ्यो तर पुरुष भएकोले टुलुटुलु हेरिरहन्छ किनकि समाजले ‘चित्त जतिनै दुखे पनि, चोट, पीडा लागे पनि तिमी रुनु हुँदैन, हिम्मत हार्नु हुँदैन’ भनेर रटाएको छ । विवाह गर्दा केटीमा संस्कार, सभ्यता र समय अनुसारको पढाई–लेखाई हेरिन्छ भने पुरुषहरुमा पढाइ–लेखाइ, जग्गाजमिन, धन, सम्पत्ति, वैदेशिक रोजगार, पेसा, जागिर सबै केलीकुलाई हेरिन्छ । अर्काको परिवारमा छोरी दिँदा सबै बुझ्नु अनुचित हैन तर केटा ३६ लक्षणले युक्त भएकै चाहिने, आफूभन्दा धनाढ्य हुनुपर्छ भन्ने मनस्थिति एकदमै गलत हो । कसैको रुप, रङ्ग, सम्पत्ति, घर, ठाउँकै कारण निर्थुक्क परेर अस्वीकृत हुँदै आफ्ना अपूर्णताको बखान सुनिरहँदा कति मानसिक असर पर्दो हो । दाइजो लिनु दिनु अपराध हो भने यो पनि पुरुषहरुप्रति मागिने दाइजो सरह नै हैन र ? हरेक परिवारले यो बुझ्न आवश्यक छ कि छोरीलाई पढाए आफै सम्पत्ति कमाएर परिवार पाल्न सक्छिन् । तर कति पुरुष, परिवारलाई बुढीले कमाएको खान बडो सकस पर्छ । नपरोस् पनि कसरी जब जन्मेदेखि महिलाले कमाएको खानु हुँदैन, तिमीले पाल्नुपर्छ भनेर दिनरात घोटाएर पिलाएपछि । छर–छिमेक र इष्टमित्रमा नामर्द र जोइटिङ्ग्रे भन्दै खिसी गर्नेको कमी हुँदैन । एउटी बलत्कृत स्त्रीलाई कति पुरुषहरुले सहजै स्वीकार्न सके पनि परिवार, नातागोता र समाजको चाँपले त्यो पुरुषलाई खर्लप्पै खाउँ जसो गर्ने व्यवहारले दिँदैन ।

यि सबै पितृ सत्ता समाजबाट आएका जडहरू हुन् । जब पितृ सत्ता हटिसक्यो भने त्यसको पतिङ्गरलाई किन अझैं पनि निफन्न नसकेको त ? पुस्ता दराल हो भनौ भने नेपाली चलचित्रका नायक आयुष्मान जोशीको ५ बर्ष जेठी श्रीमती नायिका प्रियंका कार्कीको सोसल मिडियामा यति बिग्न ट्रोल र टिप्पणी गरिन्छ मानौ कि उनीहरुले कुनै अपराध गरेझैं । केटाले २० वर्ष कान्छी श्रीमती ल्याउँदा केही नहुने अनि केटी १ वर्ष मात्रै जेठी भए दुनियाँलाई त्यो उमेर भिन्नता पचाउन कति सकस प¥या हो ? बाफ्रे ! आखिर कहिलेसम्म प्रेम तराजुमा तौलिएर गर्न पर्ने हो त ?
ति जिम्मेवारीले पिल्सिएका काधहरुमा समाजले अमिला, पिरा वचनहरू छर्केर निमोठ्दा पनि ऐया भन्न नपाउने कस्तो खाले समाज अनि कस्तो नीति हो ? सामाजिक सञ्जालै भरि रजस्वला, यौनशोषण, प्रश्रव पीडा, बलात्कार जस्ता अनेकन समस्याहरु उजागर गर्न सक्ने, आखिर पुरुषको पारिवारिक दायित्व, समाजको चोटिला प्रहार, कर्तव्यको भारले उत्रिएका ति हात, पाखुराको चोट र पिडालाई पोस्ट्याउन किन अकमकाउँछन् त ?

साथीहरुले कुरा गर्दा होस् या कुनै फिल्म हेर्दा होस् प्रायः प्रेमीले नै प्रेमीकालाई डेटिङ जाँदा खुवाउने, घुमाउने देख्छु । मलाई एस्तो किन्दे, यो चाहियो भनेर धेरैजसो केटीहरु आफ्नो इच्छाहरूको थाक लगाउँछन् तर उनीहरुको हरेक आवश्यकता पुरा गरिदिने पुरुषहरु कुनै बैङ्कको एटीएम अथवा आर्थिक सहायता हैनन् भनेर बुझ्न महत्वपूर्ण छ । आफ्नो मुड स्वीङ्, मानसिक समस्या जसरी बुझुन भन्ने धारणा हुन्छ त्यसरी नै पुरुषहरुको पनि मनोविज्ञान उत्तिकै महत्वपूर्ण हुन्छ । कतिपय महिलाहरुले आफैं तिर्न खोजे पनि पुरुषहरुलाई उनीहरुले नै तिर्न पर्छ भन्ने मनशाय छ । अझ केटाहरुले नै केटाहरुको व्यङ्ग्य गरेको देख्दा यी समस्याहरु नौलो देखिन्न । केटा साथीहरुले कुनै अर्को साथी भावुक हुन खोज्दा कस्तो आईमाई जस्तो, नामर्द भनेर खिसी गरेको म आफैंले सुनेकी छु । आफ्नी छोरी, दिदीबहिनीलाई विवाहको विदाइमा रुँदा ‘कस्तो काँतर , मर्द भएर पनि रुन्छन्’ भन्दा ताजुब लागेर आउँछ । पुरुष–पुरुषबीच पनि भिन्नता हुनु भनेको स्वतः पुरुष प्रधान समाजले आँखा चिम्लिएर लगाएको पट्टी हो ।

आज तेजाब आक्रमण, बलात्कार, शोषण जस्ता अमानवीय घट्नाले बिकराल रुप लिएको छ तर त्यसमा सबै पुरुष जातिलाई मुछेर एकै द्रिष्टिकोणले हेर्नु सरासर अनुचित हो । हाम्रो समाज ठान्छ भावना स्त्रीलिङ्ग हो जसलाई फलाउने, फुलाउने अधिकार केवल महिलामै सीमित छ मानौ कि प्रत्येक महिना महिलामा हुने महिनावारी जस्तै । तर, वास्तवमा भावना प्राकृतिक गुण हो जुन स्त्रीलिङ्ग वा पुलिङ्ग केहि पनि हैन । समाजले पुरुषहरुको भावनालाई सँधै मास्क लगाउन सिकाउँछ जसको परिणाम स्वरुप मानसिक रोग,सामाजिक समस्याको आगमन हुनु हो ।विश्वमा २.६% पुरुषहरु मानसिक रोगको शिकार छन् जसमा डिप्रेसन, एन्जाइटी, लागूऔषध इत्यादि पर्दछ । २०१५को तथ्यांकले २ः३ को तुलानात्मक अंशमा पुरुषहरुले आत्महत्या गरेको देखाउँछ । समाजको ग्रसित मानसिकता र कठोर व्यवहारले नै कति पुरुषहरु उकुसमुकुस भएका छन् । हाम्रो समाजलाई बुझाउन सकिन्न तर सम्झाउने जमर्को गर्न सकिन्छ किनकि निदाएको व्यक्तिलाई सहजै उठाउन सकिन्छ तर निदाएको नाटक गर्नेलाई सकिन्न । हाम्रो समाज निदाएको हैन केवल निदाए जसो मात्रै गरिरहेछ !

म स्वयम् एक महिला हुँ तर मलाई पितृसत्ता समाजले पढाएको शासकीय शक्तिका पाठहरुले पुरुषहरुप्रति हुने व्यवाहर पटक्कै मन पर्दैन । हचुवाको भरमा पुरुषहरुलाई नाना थरि व्यङ्ग्य गर्ने र सँधै पुरुषहरुलाई गिराउने, आफूले आफैंलाई फिमेनिष्ट बताउने नारीहरूलाई फिमेनिजमको पाठहरु पुनः पढ्न आग्रह गर्दछु किनकि असली फिमेनिष्टले पुरुष र महिला सगैँ एक अर्काको साथमा अगाडि बढेर समानताको चाहना राख्दछन् । हामीलाई समानताको समाज चाहिएको हो कुनै मात्रित्व वा पितृत्वको एकहोरो शासनहरु हैनन् । हामी पुरुष प्रधान समाजले बनाएको अररा धारणाहरुले सिर्जना गरेको क्तभचभय समाजको दृष्टान्त बदल्न तत्पर छौं । नोभेम्वर १९ मा ऐतिहासिक पुरुष दिवस मानिन्छ जुन कुरा कति पुरुषहरुलाई नै थाहा छैन ।

अपराध गर्नु वा कुनै पनि अनुचित क्रियाकलाप घट्नुमा कुनै पनि लिङ्ग, समुदाय वा वर्गले भन्दा मानिसको सोच, विचार र धारणाले हुने हो । समाज , समाज भनिरहँदा समाज म ,तपाईं, हामी सबै समाज हौ । त्यसैले हामीले नै समाजको ग्रसित विचारहरुलाई पन्छाएर पुरुष महिला एक अर्काको समर्थक र संरक्षक भएर अगाडि बढे सुनौलो समाजको निर्माण गर्न सकिन्छ । समाजको स्थिर धारणाहरुले अस्त ब्यस्त भएपनि निरन्तर कदम चालिरहने सम्पूर्ण पुरुषहरुलाई मेरो तर्फबाट सम्मान टक्रयाउँछु ।

1 thought on “पुरुष रुदैमा नामर्द हुदैनन् !

  1. You’re best and you’re doing great ❤
    Loved every words and thank you from all the brothers ❤
    Keep inspiring us 🕶

Leave a Reply

Your email address will not be published. Required fields are marked *