अमेरिकी राज्यद्वारा उपमेयर सम्मानित
पथरीशनिश्चरे,

बेलबारी नगरपालिका उपप्रमुख तारा पराजुली अमेरिकाकाे एक राज्यद्वारा सम्मानित भएकी छिन् ।
अमेरिकाको भर्जिनिया राज्यमा आयोजित एक भव्य कार्यक्रममा उपमेयर पराजुलीलाई कुशल जनप्रतिनिधिको भूमिका निर्वाहका अतिरिक्त नेपाली कला, साहित्य, संगीत र सिर्जनाका क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै उच्च प्रशंसा र कदरसहित अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका (इनास)ले सम्मान गरेको हो ।
नेपाल बाहिर प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र कलाकारिताको विकास प्रवद्र्धनका निम्ति क्रियाशील कलाकारहरुको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका (इनास) को अमेरिकास्थित विभिन्न राज्यहरुका कमिटीहरुको मनोनयन, सपथ ग्रहण एवं सांस्कृतिक सांगीतिक कार्यक्रमका बीच उक्त सम्मान कार्यक्रम भएको सस्थाका अध्यक्ष आनन्दु लामाले अनलाइन संवादमार्फत बताएका हुन् ।
कार्यक्रमका लागि प्रमुख अतिथि कलाकार साबु गदाल कार्कीले नेपाली मौलिकता झल्कने कला क्षेत्रको विकास र उन्नयनका लागि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका (इनास) को सक्रियता र भूमिका उल्लेखनीय रहेको बताएकी थिइन् । साथै, उनले अझ सक्रिय भएर अघि बढ्न पनि सम्मानित सबैलाई बधाई ज्ञापन गरेकी थिइन् ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिका (इनास) द्वारा सम्मानित हुन पाएकोमा अत्यन्तै गर्वबोध भएको नगर उपप्रमुख पराजुलीले बताउनुभएको थियो। विभिन्न खाले बाध्यताले विदेशी भूमिमा बसोबास गरिरहेका भनेपाली कलाकारहरुको सक्रियता र गतिशीलताले नेपाली भाषाको र कला क्षेत्रको विकासमा ठूलो योगदान पुगेको साहित्यकार एवं नगर उपप्रमुख पराजुलीले बताएकी थिइन् ।
