June 18, 2026

नेवाःपासा मुना पुचः बिर्तामोडले ‘गाइजात्रा’ मनायो

0

बिर्तामोड ।

भाद्रकृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा पर्व सोमबार झापासहित देशभर मनाइको छ । सोही क्रममा नेवाःपासा मुना पुचः बिर्तामोडले गाइजात्रा पर्व मनाएको हो । विषेश गरी नेवार समुदाय बसोबास भएका ठाउँमा गाइजात्रा पर्व मनाइन्छ ।

मृत्यु भएको एक वर्ष नपुगेका आफन्तका परिवारले गाइजात्राका दिन मृतक आफन्तको सम्झनामा उनीहरुको तस्बिरका साथै पुत्लाहरु बनाएर आ–आफ्ना इलाका परिक्रमा गराउने प्रचलन छ ।

गाई र मानिसलाई सिगारी मृतक आफन्तको प्रतिमाका साथ सहर परिक्रमा गर्दै मृतकका आफन्तले फलफुल, मिठाई, दुध, दही लगायत विभिन्न खानेकुरा र द्रव्य दान गर्ने प्रचलन छ ।

गाईजात्रा पर्वको सुरुवात राजा प्रताप मल्लले गराएको मानिन्छ। राजा प्रताप मल्लले पुत्रको मृत्युले शोकले बिह्वल भएकी आफ्नी रानीलाई फकाउनका लागि हाम्रो छोरा जस्तै धेरैका आफन्त मरेका छन् भनी देखाउन आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएको जनश्रुती पाइन्छ । गाईजात्रालाई नेवारी भाषमा सापारु भन्ने गरिन्छ । सा को आर्थ गाई र पारुको अर्थ प्रतिपदा तिथी रहेको छ ।

यसैबीच नेवाःपासा मुना पुचः बिर्तामोडले बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्रभित्र दिवङ्गत भएका नेवार समुदायका मानिसहरुको सम्झनामा श्रद्धाञ्जलि कार्यक्रम गरिएको छ । एक वर्षभित्र मृत्यु भएका २० जना सदस्यको सम्झनामा सापारु तथा श्रद्धाञ्जलि कार्यक्रम गरिएको नेवाःपासा मुना पुचः बिर्तामोडका कार्यलय सचिव सञ्जय श्रेष्ठले जानकारी दिए ।

साथै सोही अवसरमा शारिरीक अशक्त भएका महिलाहरुलाई खाद्यन्न तथा विविध सामग्री वितरण गरिएको थियो । मृतकका परिवारले जम्मा गरेको सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा मोहन माया माविका पूर्व प्रअ विन्दु श्रेष्ठले आफ्ना श्रीमान देवेन्द्र श्रेष्ठको सम्झनामा नेवा सहायता समूह (नेवाःग्वाहाली पुचः) लाई ११ हजार एक सय ११ रुपैंया प्रदान गरेको नेवाःपासा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेवाःमिसा पुचः का अध्यक्ष निलम प्रधान, नेवाःग्वाहाली पुचः अध्यक्ष प्रमेश हलवाई, नेवाः ल्याम्ह पुचः का अध्यक्ष गम्भीररत्न शाक्य लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *