June 18, 2026

बिर्तामोड उद्योग वाणिज्य संघले कर छुटको माग गर्दै नगरपालिकामा ज्ञापन बुझायो

0

बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघले घर वाहल घर तथा व्यवसायिक कर छुटको माग गर्दै बिर्तामोड नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

कोरोना भाइरसका कारण निजी क्षेत्र धरासायी बन्दै गएको अवस्थामा बैंकको ब्याज, घर भाडा तथा राजश्व बुझाउन कठिन भएको भन्दै वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको नेतृत्वमा गएको टोलीले राजश्व परामर्श समितिका प्रमुख एवम् बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंलाई ज्ञापन पत्र बुझाएको छ ।

विषम परिस्थितिमा बिर्तामोड नगरपालिकाले व्यवसाय गरे वापतको व्यवसायिक कर र घर भाडा लगायत वापत लिने गरेको वाहल कर छुटका लागि आवश्यक पहल गरिदिन व्यवसायिकको तर्फबाट नगरपालिकालाई अनुरोध गरिएको अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

यसैबीच वाणिज्य संघले कोठा भाडा छुट गर्न समेत माग गरेको छ । बिर्तामोड नगरपालिकाले भाडा लगाएका कोठाहरुको भाडा तिर्न कठिन रहेको व्यवसायीहरुबाट जनगुनासो आएकाले नगर पालिकाले भाडामा लगाएका कोठाहरुको लकडाउन अवधिको कोठा भाडा नलिई व्यवसायीलाई राहत सहयोग गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको अध्यक्ष शिवाकोटीले बताए ।

कोरोना संक्रमणका कारण देशको अर्थतन्त्र ओरालो लागिरहेका बेला निजी क्षेत्रको व्यवसाय संरक्षण गर्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने बताइएको छ । ज्ञापन पत्र बुझ्दै परामर्श समितिकी प्रमुख प्रसाईले आवश्यक छलफलबाट निर्णय लिने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *