June 18, 2026

पिन्डलबारीको पीडा पुल नबन्दा जोखिमपूर्ण यात्रा

0

पार्थ मण्डल,
झापा ।

भारतीय सीमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको साबिक घेरावारी गाविस–५ हाल कचनकवल गाउँपालिका–१ स्थित पिन्डलबारीका स्थानीयवासीले हरेक बर्खायाममा सास्ती झेल्नु परेको छ ।

दशकौँ बित्दा समेत कुनै पनि सरकारको पालामा पिन्डलबारीबासीको पीडादायी समस्या सम्बोधन हुन नसकेको उनीहरूको एउटै स्वर छ । झापा जिल्लाकै विकट गाउँ भनेर परिचित पिन्डलबारीलाई पश्चिम र दक्षिणतर्फ भारतीय सीमाना र पूर्वपट्टि बिरीङ्ग खोलाले घेरेको छ ।

डुबानको समेत उच्च जोखिममा रहेका गाउँवासी बर्खाको बेला सामान्य औषधि उपचार, सरकारी सेवा वा अन्य काम विशेषले गाउँबाट बाहिर जानु प¥यो भने बिरीङ्ग खोलाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ । ‘न गाउँमा सुविधा सम्पन्न कुनै बाटोघाटो छ, न त पक्की पुल नै छ’– स्थानीय भादु्रलाल राजवंशीले भने– ‘गाउँवासी बर्खा याममा कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।’

निर्वाचनको बेला मात्र नेताहरु भोट माग्न पिन्डलबारी जाने गरेका छन् । बर्खा याम शुरु भएपछि कोही नेताहरु उनीहरूको समस्या बुझ्न गाउँ पुग्दैनन् । ‘बर्खा याम शुरु भएपछि तीन महिना गाउँवासीलाई धेरै समस्या भोग्नु पर्ने हुन्छ’– राजवंशीले भने– ‘कतै जानु प¥यो भने भारतीय बाटो भएर वा खोला तर्न स्थानीयले प्लाष्टिकको ठूलो ड्रम र बाँसले बनाएको डुङ्गा चढेर जानुपर्ने हुन्छ ।’

अहिले कोरोना कारण सीमा नाकामा पनि भारतीय एसएसबीले कडाइ गर्दा गाउँवासीले थप समस्या भोग्नु परेको बताउँदै उनले भने– ‘एसएसबीले भारत प्रवेश गर्न नदिँदा र खोलामा पानीको बहाव बढेपछि गाउँवासी घरै थुनिनुपर्ने हुन्छ, त्यही बेला गाउँमा कोही बिरामी परे अकालै मर्नुपर्छ ।’ ‘चुनावको बेला नेताहरु गाउँ पसेर यस्तो गरिदिने, त्यस्तो गरिदिने आश्वासन दिन्छन्, चुनाव सकिएपछि सकिन्छ’– उनले गुनासो गरे ।

सडक तथा पुलको विकल्प नहुँदा बर्खामा जोखिम मोलेर अस्थायी डुङ्गा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको डुङ्गा सञ्चालन गर्दै आएका मोहन मण्डलले बताए । १२ वटा ड्रमको अस्थायी डुङ्गा बनाएर दुःख सुख जसरी भए पनि गाउँवासीलाई तारिरहेको बताउँदै मण्डलले भने– ‘सबैभन्दा विकट ठाउँ भनेकै पिन्डलबारी हो, झोलुङ्गे पुल बनाउने कुरा पनि पटक –पटक उठ्यो, तर अहिलेसम्म कुनै सुरसार छैन ।’ आदिवासी समुदायका बाहुल्य रहेको पिन्डलबारीमा १४७ घरधुरी रहेका छन् ।

बाह्रदशी गाउँपालिकासँग सीमा जोडिएको पिन्डलबारी गाउँसहित दक्षिणी भूभागका गाउँहरूमा बर्खा याममा खोलाले जमिन कटानसँगै डुबान गर्दा स्थानीयले सास्ती झेल्नु परेको बाह्रदशी गाउँपालिका १ का वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए । मानिस बिरामी हुँदा सामान्य सिटामोल किन्न समेत जोखिम र सास्ती खेपेर जानुपरेको उनको भनाइ छ ।

यता कचनकवल १ नम्बर वडाध्यक्ष लक्ष्मीनारायण यादवले पिन्डलबारीबासीको बर्खायामको समस्या समाधान हुन नसकेको स्वीकार गरेका छन् ।

पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पिन्डलबारी जाने बिरीङ्ग खोलामा २०७२ सालमा झोलुङ्गे पुलको शिलान्यास गरेका थिए । उनको पालामा त्यो झोलुङ्गे पुल बनेन । त्यसपछि राप्रपाका नेता राजेन्द्रप्रसाद लिङ्गदेनले यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेपछि फेरि झोलुङ्गे पुल बनाउने योजना अघि सारे । संघीय सरकारले पुलको ठेक्का समेत लगाइसकेको छ ।

पुलको ठेक्का लागेपछि २०७७ साल फागुनमा प्रतिनिधिसभा सदस्य लिङ्गदेन, स्थानीय जनप्रतिनिधि, कर्मचारी, निर्माण कम्पनीसहितको टोलीले पुल बनाउने ठाउँको पहिचान गरेर गएको थियो । सिटौलाले शिलान्यास गरेको ठाउँ भन्दा अलि पर सोरेर पुल बनाउने पोन्इटको पहिचान गरिएको वडाध्यक्ष यादवले बताए । ‘पुलको ठेक्का लागिसकेको छ, कोरोनाको कारण केही ढिलाइ भएको हो, पुल बनेपछि गाउँवासीको समस्या समाधान हुन्छ’– उनले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभागको स्थानीय पुल शाखाले सो खोलामा झोलुङ्गे पुलको ठेक्का लगाइसकेको शाखाका इञ्जिनियर दिनबिनोद खड्काले बताए । सो पुलको ठेक्का बिएलटी निर्माण कम्पनीले लिएको हो । दुई वर्षभित्र पुल बनाउने सम्झौता गरेको निर्माण कम्पनीले बर्खा सकिएपछि काम शुरु गर्ने इञ्जिनियर खडकाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *