तेस्रो लहरको जोखिम बढ्यो, अस्पतालहरू तयारी राख्नू : गृह मन्त्रालय
काठमाडाैं,

गृह मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढेको भन्दै अस्पताल र आइसोलेसनलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै अस्पताल सूचीकरण तथा सुपरिवेक्षण गर्न निर्देशन दिएको हो।
पहिलो र दोस्रो लहरका बेला संक्रमितको उपचार गर्न सूचीकृत भएका अस्पतालहरू हाल स्थगन गरिएको हुँदा फेरि सूचीकरणको प्रक्रिया थाल्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
हाल संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा अस्पतालका बेडहरु भरिँदै गइरहेको भन्दै मन्त्रालयले तेस्रो लहरका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेजहरूमा आवश्यक व्यवस्थापन गर्न भनेको छ।
गृहमन्त्रालयले सूचना जारी गर्दै आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेजलाई सूचीकरण तथा सुपरिवेक्षण गर्न निर्देशन दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई, स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रको पत्रपछि सचिव स्तरीय निर्णयबाट देशैभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै निर्देशन दिइएको हो।
‘प्रथम र दोस्रो लहरको बेलामा सुचीकृत अस्पतालहरू हाल स्थगन गरिएको हुँदा सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्येनजर गर्दै अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यकता देखिएको, कोभिड १९ संक्रमितहरूको आइसोलेसन सेन्टर, सवै अस्पतालहरू, मेडिकल कलेजहरूमा आवश्यक व्यवस्थापन गर्न सवै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई तोक्न (सचिवस्तर) को मिति २०७८/०४/२५ गतेको निर्णयानुसार अनुरोध भई आएको हुँदा निम्नानुसारका कार्यहरू कार्यान्वयन गर्न गराउनुहुन निर्णयानुसार अनुरोध छ,’ गृहले गरेको परिपत्रमा भनिएको छ।
गृहमन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पतालहरू र मेडिकल कलेजहरू सूचीकृत गर्ने, अस्पतालहरूको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको इमेलमा पठाउने, सूचीकृत अस्पतालहरूमा संक्रमितहरूको तथ्यांक र विवरण दैनिक रूपमा अनिवार्य अध्यावधिक गर्न लगाउने निर्देशन दिएकाे छ।
यस्तै मासिक अध्यावधिक विवरण एकिन गरी सो अनुसार निःशुल्क उपचार भएका संक्रमितहरूको विवरण सम्बन्धित अस्पतालहरूलाई सोधभर्ना गर्ने प्रयोजनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउने र सूचीकृत अस्पतालहरूको नियमित सुपरिवेक्षण अनुगमन गर्न भनेको छ।
संसारभरी महामारीको रूपमा फैलिएको कोभिड १९ को संक्रमण नेपालमा समेत फैलिएको हाल संक्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तथा अस्पतालमा पनि उपलब्ध बेडहरू भरिँदै गइरहेको अवस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।-थाहाखबरबाट
