भद्रपुर नगरपालिकाद्वारा पूर्वाञ्चलकर्मी मण्डललाई सम्मान
झापा ।

भद्रपुर नगरपालिका, नगर युवा परिषद्ले पूर्वाञ्चलकर्मी पार्थ मण्डललाई सम्मान गरेका छन्।
‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नगर युवा परिषद्ले युवा पत्रकार रुपमा मण्डललाई सम्मान गरेका हो।
नगरपालिकामा बिहीबार आयोजित युवा संवाद तथा सम्मान कार्यक्रममा नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले दोसल्ला ओढाएर पत्रकार मण्डललाई सम्मान पत्र प्रदान गरेका थिए।
प्रेस क्लब भद्रपुरका सचिवसमेत रहेका पत्रकार मण्डल पूर्वाञ्चल दैनिक, एबिसी टेलिभिजन, हिमालयन टाइम्स, मकालु टेलिभिजन, सूर्योदय टेलिभिजनलगायत मिडियामा आबद्ध छन्।
त्यस्तै सोही कार्यक्रममा नगर क्षेत्रका सक्रिय सामाजिक संस्था भद्रपुर जेसिजलाई सम्मान गरेको छ। जेसिजका अध्यक्ष खिलनाथ पाण्डे (निकास) लाई सो सम्मान पत्र मेयर श्रेष्ठले प्रदान गरेका थिए।
जेसिजले कोभिड–१९ को महामारीमा नगर क्षेत्रमा ुएक संक्रमित, एक दाता अभियान चलाउँदै संक्रमितको घर–घरमा पुगेर राहत सामग्री वितरण गरेका थिए।
कोभिड–१९ को दोस्रो लहरमा कोरोना संक्रमितको शव व्यवस्थापनमा दिनरात खटिएका स्काउटर शिवानी देवान र विवेक चम्लागाईलाई पनि सम्मान गरिएको छ।
उनीहरुलाई मेयर श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए। त्यसैगरी कोभिड व्यवस्थापनमा ुयुवाको भूमिका र कोभिडको सामाजिक असरु शीर्षकमा आयोजित भिडियो वक्तृत्वकला प्रतियोगितामा नगर क्षेत्रबाट सहभागीमध्ये प्रथम हुने शंशाक न्यौपाने, द्वितीय हुने आराध्या प्याकुरेल रीना घिमिरे र तृतीय हुने निशा लामिछानेलाई पुरस्कृत गरिएको छ।
उनीहरूलाई नगदसहित प्रशंसापत्रले पुरस्कृत गरिएको थियो। प्रतिभा पहिचानतर्फ प्रथम भिषजा खतिवडा, द्वितीय आराध्या प्याकुरेल र तृतीय साकारबाबु खतिवडालाई पुरस्कृत गरिएको छ।
