डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कार र उदयीमान पत्रकारिता पुरस्कार घोषणा
बिर्तामोड ।

जिल्ला कार्यसमिति झापाले फोनिजको २२ औं स्थापना दिवस मनाएको छ ।
फोनिजका झापा जिल्ला अध्यक्ष बिशाल नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा फोनिजका केन्द्रिय सचिव कमन देवान प्रमुख अतिथि र अतिथिहरुमा फोनिजका प्रदेश १ अध्यक्ष अर्जुन जम्लेली राई, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गीरी प्रेस चौतारी झापाका अध्यक्ष टिकाराम उप्रेती, प्रेस युनियन झापाका उपाध्यक्ष गिरीराज भट्टराई लगायतको उपस्थीति रहेको थियो ।
प्रमुख अतिथि कमन देवानले कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘‘ कोरोना संक्रमणबाट संक्रमित पत्रकारहरुलाई निशुल्क उपचारको व्यवस्था गरिदिन राज्यसँग अनुरोध गर्दछु ।’’
देवानले सम्बोधन गर्दै मुलुक स्वास्थ्य र राजनैतिक रुपमा समस्या ग्रस्त भएको बतादै मुलुक संविधाननत चल्नुपर्छ, संविधानभित्र निर्दिष्ट भएका विधि, आयामहरु र मान्यताहरुबाट बाहिर गएर मुलुक संचालन हुने परिपाटी बस्यो भने मुलुकलाई सही गन्तव्यमा पुर्याउन नसक्ने विचार व्यक्त गरे । पत्रकारिता पेशासँग जोडिएका सम्पूर्ण संचारकर्मीहरुको हकहितको पक्षमा फोनिज सधै लागि रहेको बताए ।
शुभकामना मन्तव्य दिदै पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गीरीले फोनिज झापासँग सहकार्य गर्दै अगाडि बड्न महासंघ सधै तत्पर रहेको बताए । गीरीले भने ‘‘ आदिवासी जनजातिको मुद्धा आदिवासी जनजाति पत्रकारले मात्रै उठाउँने होइन सबै पत्रकार, सबै संचार माध्यमले उठाउँनु पर्छ ।’’
कार्यक्रमका अवसरमा फोनिजका अध्यक्ष बिशाल नेम्बाङले कोभिड महामारीका कारण गत वर्ष वितरण गर्न नसकिएको डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कार र उदयीमान पत्रकारिता पुरस्कार साथै २०७८ को समेत सँगै घोषणा गरेका थिए ।
अध्यक्ष नेम्बाङले डिकमान विरही उत्कृष्ट पत्रकारिता २०७७ इन्द्रसिङ राजवंशी, २०७८ कमन देवान, उदयीमान पत्रकारिता पुरस्कार २०७७ मिना नेम्बाङ, सुभला तामाङ, २०७८ का लागि डिल्लीश्वर मुसाहाङ (अम्याङ्सा) र लीला राईलाई छनौंट गरिएको घोषणा गरेका थिए ।
आगामी अधिवेशनमा सो पुरस्कार वितरण गरिने अध्यक्षले बताए । फोनिज झापाले हरेक स्थापना दिवसमा डिकमान विरही उत्कृष्ट पत्रकारिता पुरस्कार एकजना अग्रज पत्रकार र उदयीमान पत्रकारिता पुरस्कार २ जना नयाँ पत्रकारलाई वितरण गर्दै आएको छ ।
