प्रहरीलाई क्षमतावान बनाऊ
पछिल्लो समय अपराधका घटना बढ्दै गएका छन् । ‘बोलीले पनि हिंसा नगर’ भन्ने भगवान बुद्धकै देशमा व्यक्ति हत्या जस्ता जघन्य अपराध सामान्य र नियमित जस्तै हुन थालेको छ । यस्ता कतिपय अपराधका घटना वर्षौंसम्म रहस्यमय बनेका छन् ।
समाजमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्ने कर्तव्य भएको प्रहरी नै अपराध नियन्त्रण गर्न असफल हुन थालेको हो कि भन्ने आशंका पनि बढ्दैछ । अपराधका घटना न्यूनीकरण हुन नसक्नुका पछि राजनीतिक अवस्थालाई पनि कारक मानिन्छ । कतिपय व्यक्ति हत्याका अपराधलाई राजनीतिको बर्को ओढाएर पबित्र बनाइएका दृष्टान्त छन् । त्यहीबाट प्रारम्भ भएको यात्राले सत्ताको सिंहासनमा आरोहण गराएको सन्दर्भलाई नबिर्सिने हो भने हाम्रै इतिहासको लिच्छबीकालीन स्वर्ण युग अब नआउने निश्चित छ ।
किशोरी निर्मलाहरूको रहस्यमय मृत्युको श्रृंखला लामो र अटुट छ । ती मध्ये कतिपय अझै रहस्यको गर्भमै छन् । देशका अन्य जिल्लाभन्दा चेतना र भौतिक पूर्वाधारले अग्रणी झापा अपराधका घटनामा पनि पछि छैन । चोरीडकैती मात्र होइन लागूऔषधको कारोबार, चेलीबेटी बेचबिखन, दुव्र्यसन र तस्करी, भ्रष्टाचार लगायतका अपराध नियन्त्रण गर्न राज्यले प्रहरी संगठनमा विशेष प्रबन्ध पनि गरेको छ । अपराध अनुसन्धानकै लागि विशेष तालिम र छुट्टै इकाई गठन गरेर अनुसन्धान गर्दा पनि कतिपय घटनाका दोषीहरू अझै कानूनको दायरामा आएका छैनन् ।
यसो हुनुका पछि कतिपय अपराधीहरूले राजनीतिक संरक्षण पाएको टिप्पणी समेत हुने गरेको छ । यसैक्रममा झापामा पनि श्रृंखलाबद्ध अपराध भएका छन् । तर, प्रहरी त्यसको तहमा पुगेर दोषी पत्ता लगाउन असमर्थ जस्तै देखिएको छ । एक महिनाअघि बिर्तामोडमा एक युवती घर नजिक मृत अवस्थामा फेला परिन् ।
बिर्तामोड–५ बसपार्क पश्चिम डेरा बस्दै आएकी सृजना बस्नेतको शव अर्धनग्न अवस्थामा फेला परेको थियो । उक्त घटनाको अनुसन्धानका लागि धरानबाट विशेष प्रहरी परिचालन पनि गरियो । विभिन्न कोण र टोलीले घटनाको छानबिन गरे पनि तथ्य प्रकट भएको छैन, अपराधीको पहिचान हुन सकेको छैन । यसले आपराधिक मनोवृत्तिलाई अझ बल पु¥याउन सक्छ भन्ने आशंका बढ्ने चिन्ता थपिएको छ । ‘चोर पल्किने डर’ले पनि झापालीले प्रहरी संगठनको प्रभावकारिता खोजिरहेका छन् ।
अनुसन्धानका लागि आवश्यक उपकरण, प्रशिक्षण र वातावरण निर्माण गर्ने दायित्व राज्यको हो । यसले सीप, क्षमता र उत्साह प्रदान गर्छ। यसबाहेक सुरक्षा संयन्त्रलाई बलियो बनाउन जनशक्ति थप गर्नेदेखि सजगता र सतर्कतासहितको प्रहरी परिचालन गरेर जनताको जिउधनको सुरक्षा गर्न राज्यको ध्यान जानुपर्छ । अपराध सदाका लागि अन्त्य गर्न अपराधीहरूलाई राजनीतिक संरक्षण दिनु हुँदैन ।
