June 20, 2026

सिर्जनाको हत्या वा आत्महत्या अझै पत्ता लागेन, सीआईवी नै अलमलमा

0

झापा ।

झापामा एकपछि अर्काे गर्दै दिनहुँ जसो हत्याका घटना भइरहेका छन् । तर, प्रहरीले हत्यामा संलग्नको पहिचान गर्न नसक्दा अधिकांश घटनाका दोषीले उन्मुक्ति पाइरहेका छन् ।

गत पुस महिना यता घटेका अधिकांश घटनाका दोषी पहिचान नहुँदा पीडितले न्याय पाउन सकेका छैनन् । पुस महिना यता मात्रै झापाका विभिन्न स्थानमा शंकास्पद अवस्थामा फेला परेका शवको विषयमा प्रहरीले अनुसन्धान गरे पनि घटनाको विषयमा तथ्य सार्वजनिक गर्न नसक्दा मृतकका आफन्तले न्याय पाउन नसकेका हुन् ।

बिर्तामोड नगरपालिका–२स्थित चैतुवारी नजिकै गत पुस ५ गते बिहान सोही ठाउँकी ४२ वर्षीया दिनो राजवंशीको शंकास्पद अवस्थामा शव फेला परेको थियो । जगत राजवंशीको जग्गा भाडामा लिएर उनका पति बीरबहादुर राजवंशीले कुखुरा फर्म सञ्चालन गर्दै आएको र पतिलाई खाना पु¥याउन घरबाट हिँडेकी दिनो बिहान मृत भेटिएकी थिइन् । खाना बोकेको भाँडाकुँडा एकातिर र शव अर्कैतिर फेला परे पनि प्रहरीले घटना के कारण घटेको हो अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

दिनो पुस ४ गते शनिबार बेलुका ७ बजे श्रीमानलाई खान पु¥याउन भनी घरबाट हिँडेको र राति अबेरसम्म नफर्किएपछि परिवारका सदस्यले उनको खोजी शुरु गरेका थिए । खोजी गर्ने क्रममा उनको शव घरदेखि ३०० मिटर पश्चिम खेतमा बिहान मात्रै भेटिएको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको जनाए पनि प्रहरीले अहिलेसम्म घटनाको वास्तविकता सार्वजनिक गर्न सकेको छैन । पतिलाई खाना पु¥याउन हिँडेकी राजवंशीको हत्या गरेर फालिएको भए पनि प्रहरीले घटनामा संलग्नको पहिचान गर्न नसकेको भन्दै स्थानीयले चर्काे आलोचना गरे तर सो घटना अहिलेसम्म पनि रहस्यमय छ ।

यता झापाको बिर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौला चारआलीको जंगलमा मृत फेला परेका थिए । गत चैत २२ गते उनको शव फेला परेको हो । शव फेला पर्नु दुई दिन अघि निरौला मोटरसाइकलसहित बेपत्ता भएका थिए । मे९प २२०९ नम्बरको साइन मोटरसाइकलसहित निरौला बेपत्ता भएपछि परिवारले सामाजिक सञ्जालमार्फत उनी हराएको सूचना सार्वजनिक गरेका थिए । तर, उनको शव चारआली जंगलमा शंकास्पद अवस्थामा फेला परेको थियो ।

सुसाइट नोटसहित निरौला भेटिए पनि शंकास्पद अवस्थामा उनको शव फेला परेकाले निरौलालाई कसैले हत्या गरेर फालिएको हुन सक्ने भन्दै होटल व्यवसायीले घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरे । प्रहरीले घटनाको अनुसन्धान तथ्यमा आधारित रहेर गरेको जनाए पनि बिर्तामोड नगरपालिकाले दिन दहाडै व्यवसायीको हत्या भएको भन्दै विज्ञप्ति जारी गरेर शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई आग्रह गरेको थियो ।

यता होटल व्यवसायी र मृतकका आफन्तले निरौलाको हत्या भएको भन्दै दोषीलाई कारवाहीको माग गरेका थिए । तर, प्रहरीले निरौलाले आत्महत्या गरेको भन्दै घटना मुचुल्का तयार गर्दै हतार–हतार अदालत बुझाएको स्थानीयको आरोप छ । सो घटनाको गहिरिएर अनुसन्धान गर्नुको सट्टा आफू जोगिन प्रहरीले निरौलाको मृत्यु प्रकरण आत्महत्यामा टुङ्ग्याएको भनेर टिप्पणी भइरहेको छ ।

यता बिर्तामोड नगरपालिका–५स्थित सुगम पेट्रोल पम्प उत्तरमा डेरा गरी बस्दै आएकी २५ सृजना बस्नेत समेत एक महिना अघि शंकास्पद अवस्थामा मृत फेला परिन् । आफ्नै घर नजिक अर्धनग्न अवस्थामा मृत फेला परेकी बस्नेतको मृत्युको विषयमा प्रहरीले अहिलेसम्म तथ्य सार्वजनिक गर्न सकेको छैन ।

उनको मृत्युको विषयलाई लिएर दवावमूलक कार्यक्रम सञ्चालन गरिए पनि प्रहरीले सो विषयमा अनुसन्धान भइरहेको भन्दै घटनालाई सरलीकरण गर्दै लगेको छ । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको माग गर्दै आएपनि प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

यता झापा गाउँपालिका–५ पन्थापाडास्थित बिरीङ खोलाको किनारमा प्रहरीले एक बेबारिसे शव फेला पारेको छ । आइतबार राति ८.३० बजे अन्दाजी ३५ वर्षीय युवाको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय कुमरखोदका अनुसार शव कसको हो भन्ने पहिचान खुल्न सकेको छैन । शवको डिएनए परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । सड्न लागेको शवको पहिचान खुल्न नसकेको हुँदा थप अनुसन्धानका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।

माथिका केही प्रतिनिधि घटना मात्रै हुन् । जिल्लामा पछिल्लो समय शंकास्पद अवस्थामा फेला परेका शवको विषयमा प्रहरी आफै बेखबर छ । जिल्लामा घटेका अघिकांश घटनामा प्रहरीले गहिरिएर अनुसन्धान गर्न नसक्दा झापामा अपराधका घटनाले प्रश्रय पाएको टिप्पणी हुन थालेको छ ।

बोल्दैन प्रहरी

इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हाल्न आएका प्रहरी नायब उपरीक्षक सन्तोष आर्चाय बिर्तामोड क्षेत्रमै अर्धनग्न अवस्थामा फेला परेकी सिर्जनाको विषयमा बोल्न चाहँदैनन् । इलाका प्रहरी कार्यालयबाट करिब ५ सय मिटर पूर्वमा भएको घटनाको विषयमा डीएसपीले अनभिज्ञता प्रकट गर्दै आएका छन् ।

यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराई पत्रकारसंग बोल्नै चाहँदैनन् । जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापा हरेक घटनालाई सरलीकरण गर्नमा व्यस्त हुन्छन् । उनले बिर्तामोडको घटनामा अहिलेसम्म अनुसन्धान प्रभावित हुने भन्दै केही बोल्ने केही बोलेका छैनन् ।

हत्या वा आत्महत्या अहिलेसम्म खुलेन

प्रहरीले बिर्तामोडकी सिर्जनाको अर्धनग्न अवस्थामा शव फेला पारेपछि संघीय प्रहरी इकाई धरानबाट डाक्टर र कुकुरसहितको टोली झिकायो, प्रहरीले जिल्लाबाट छुट्टै टोली नै खटायो छ । प्रदेशबाट समेत टोली गठन भएर आएर अनुसन्धान गरियो ।

तीन वटा प्रहरीको टोलीले उपलब्धि हासिल गर्न नसकेपछि प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)को टोली नै झापा आएको छ । सीआईबीको टोली झापा आएर अनुसन्धान गर्न थालेको एक साताभन्दा धेरै भइसकेको छ । तर, हालसम्म कुनै पनि ठोस् आधार प्राप्त हुन सकेको छैन ।

वेखवर झैं मानवअधिकारकर्मी

एक महिला अर्धनग्न अवस्थामा मृत फेला पर्दा समेत मानव अधिकारकर्मी बोलेका छैनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी तथा केही संघ–संस्थाले सिर्जनाको विषयको वास्तविकता तत्काल सार्वजानिक गर्न माग गर्दै मुक्ति चोकमा प्रदर्शन गरे । मृतक सृजना सहकारीकर्मी भएकाले यो विषयमा जिल्ला सहकारी संघले पनि चासो नदिएको आरोप लगाइएको छ ।

त्रासमा नागरिक

दिनहुँ जसो बिर्तामोडमा अपराधका घटना बढ्न थालेपछि शान्ति सुरक्षालाई लिएर स्थानीय त्रसित भएका छन् । अपराधका घटना बढ्दा समेत बिर्तामोड प्रहरीले शान्ति सुरक्षा कायम राख्न नसकेको भन्दै चर्को आलोचना भएको छ ।

घरका ग्यासका सिलिण्डरदेखि टीभी समेत चोरी हुन थाले पनि स्थानीयले शान्ति सुरक्षा कायम राख्न प्रहरी असफल भएको बताएका छन् ।

बिर्तामोडमा शंकास्पद मृत्यु

हल्दिबारी–५का युवाको बिर्तामोडमा शंस्कास्पद मृत्यु भएको पाइएको छ । बिर्तामोड–४मा डेरा गरी बस्ने युवकको शंकास्पद मृत्यु भएको हो । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–५ घर भइ हाल बिर्तामोडमा बस्दै आएका २५ वर्षीय रोहित लिम्बू रहेका छन् ।

बिर्तामोडस्थित पश्चिम बस स्टेण्ड छेउमा कोठाभाडा लिएर बस्दै आएका लिम्बू सोमबार बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए । शरीरमा रगतले पोतिएको र घटनास्थल परिसरमा हम्मर भेटिएकाले घटना शंकास्पद रहेको आशंका गरिएको हो ।

लिम्बूको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको जिल्ला प्रहरी कार्यलय झापाका प्रबक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *