मापसे गरी बिरामीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा धनकुटाबाट एक चिकित्सक पक्राउ
झापा ।

बिरामीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनकुटाबाट एक जना चिकित्सकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाले सोमबार बिहान विराटनगरका ४८ वर्षीय डा राज शर्मालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।
उनी धनकुटा नगरपालिका वडा नम्बर ७ स्थित सुवास मेडिकल एण्ड डाइग्नोसिस सेन्टरमा काम गर्छन्। ५३ वर्षीय पुरूषले आफूमाथि गएराति ती चिकित्सकले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई मौखिक उजुरी दिएका थिए। उनले राति मापसे गरेर बिरामीको उपचार गर्न जाँदा दुर्व्यवहार गरेको प्रहरीको भनाइ छ।
‘मौखिक उजुरीपछि हामीले चिकित्सकलाई पक्राउ गरेका छौं। पीडितले जाहेरी दिएपछि थप अनुसन्धानको प्रक्रिया अघि बढ्छ,’ प्रहरी उपरीक्षक रायले भने’, बिरामीको पिसाबसम्बन्धी समस्या थियो। त्यही भएर उपचार गराउन जाँदा दुर्व्यवहार गरेको भन्ने छ।’
बिरामी सो सेन्टरमा तीन दिनअघि भर्ना भएका थिए। उनी सोमबार डिस्चार्ज हुँदै थिए। अहिले चिकित्सकमाथि प्रहरीले सोधपुछ गरिरहेको छ।-सेतोपाटीबाट
