June 20, 2026

मेचीनगरमा एकैदिन आठसय बढीलाई जोन्सन भ्याक्सिन लगाइयो

0

मेचीनगर,

शुरुदेखि नै आफ्ना नगरवासीलाई कोभिड १९ विरुद्घको भ्याक्सिन उपलब्ध गराउदैं आएको मेचीनगर नगरपालिकाले आइतबार नगरभरिका उद्योगी व्यवसायी र साना सवारी चालकलाई ८ सय बढी कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराएको छ ।

नगरका उद्योगी व्यवसायीहरुको छाता संस्था मेची उद्योग बाणिज्य संघ मेचीनगरको संयोजनमा मेचीनगर नगरपालिकाद्वारा आयोजित नगरभरिका उद्योगी व्यवसायी र सिटी सफारी तथा अटोका चालकहरुलाई समेत लक्षित गरेर कोभिड १९ विरुद्घको भ्याक्सिन लगाउने कार्यक्रममा ८ सय बढीले भ्याक्सिन लगाएको मेची उद्योग बाणिज्य संघका सदस्य उमेश सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६ सय नगरभरिका उद्योगी व्यवसायी र २ सय १० सिटी सफारी तथा अटोका चालक गरी ८ सय १० जनाले अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएका थिए । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्यकर्मीहरु दीपेन्द्र चौधरी, विद्या शिवाकोटी, सुष्मिता रायमाझी खरेल, तारा शिवाकोटी र फूलमाया पोखरेलले सेवा प्रदान गर्नुभएको शाखा संयोजक रामनारायण यादवले जानकारी दिनुभयो ।

नगरपालिका र मेची उद्योग बाणिज्य संघले भ्याक्सिन लगाउन आउनेका लागि सुविधा होस भने खोप परिसर मेचीनगर—१० धुलावारीस्थित आम्दा मेची अस्पतालको खुला ठाउँमा सुविधा सम्पन्न टेण्डको व्यवस्था गरेको संघका सदस्य भूमि पौडेलले बताउनुभयो । सदस्य पौडेलका अनुसार खोप कार्यक्रममा अनावश्यक भीडभाड नहोस भनेर एकदिन अघि खोप लगाउन आउने व्यक्तिहरुको विवरण संकलन गरिएको थियो ।

संघको संयोजनमा मेचीनगर नगरपालिकाले नगरक्षेत्रका उद्योग , व्यवसायक्षेत्रको अग्रभागमा काम गर्ने उद्योगी, व्यवसायी, मजदुरहरुका लागि कोभिड १९ विरुद्घको अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन भ्याक्सिन खोप प्राप्त गर्न नगरपालिकाले तोकेको क्षेत्रगत मापदण्ड भित्रकालाई मात्र भ्याक्सिन लगाईएाके संघका सचिव रविचन्द्र नेपालले बताउनुभयो ।

मझौला उद्योगतर्फ सिमेन्ट, प्लाईउड, चाउचाउ,वेभेरेज, दाना, दाल, चामल, उद्योग, जुत्ता चप्पल, चियाबाट ५/५, खाद्यन्न, गल्ला किराना व्यवसाय २/२ ,साना उद्योगतर्फ भेनियर, रंगरोगन,पानी ३/३, घरेलु उद्योगतर्फ धान, पिठो मिल, वेकरी, आइसक्रिम, दालमोठ, भूजिया,खाद्य उद्योगहरु २/२ माछा मासु, तरकारी फलफूल, डेरी हार्डवयर भेटनरीबाट १/१ जनालाई खोप लगाउने व्यवस्था संघले मिलाएको सचिव नेपालले बताउनुभयो । खोपको दुरुपयोग नहोस भनेर सम्बन्धित उद्योग व्यवसायबाट खोप लगाउन आउने व्यक्तिलाई उद्योग, फर्म तथा व्यवसाय दर्ता प्रमाण पत्र अनिवार्य गरिएको थियो ।

स्थानीय सरकार मेचीनगर नगरपालिकाले नगरभरिका उद्योगी व्यवसायी र साना सवारी चालकलाइ सहजरुपमा भ्याक्सिन उपलब्ध गराएको भन्दैं सर्वसाधारणले नगरपालिकाको प्रशंसा गरेका थिए । नगरप्रमुख विमल आचार्यले नगरभिका हरेक नगरवासीलाई सहजरुपमा भ्याक्सिन उपलब्ध गराउने बताउनुभएको छ । क्रमस सवैलाई खोप लगाउने उहाँको भनाई छ । नेपाल सरकारले कोभिड १९ बिरुद्धको खोप लगाउने अभियान शुरु गरेदेखि नै स्थानीय सरकार मेचीनगर नगरपालिकाले खोपलाई पहिलो प्राथमिकतामा राखेको उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ ।

कोभिड १९ को संक्रमण दर बढिरहेका बखत मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीका लागि आफै खोप ल्याउने तयारी गरेको थियो । कोभिड १९ का कारण कुनै पनि नगरवासीले मृत्युवरण गर्न बाँध्य हुनु नपरोस भनेर नगरबासीको जीवन रक्षाका लागि नगरपालिकाले आफ्नै स्रोतबाट खोप किन्न स्थानीय सरकार मेचीनगर नगरपालिकाले संघीय सरकारसंग अनुमती माग समेत गरेको थियो । स्थानीय तहले खोप किन्न पाउने ब्यवस्था संघीय सरकारले नीतिगत रुपमा नै गरिदिनु पर्ने भएकाले नगरपालिकाले संघीय सरकारसँग यस्तो माग गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीको भनाई छ ।

नगरपालिकाबाट पहिलो डोज लिएका धेरैले दोस्रो डोज लिन नपाएका कारण नगरपालिकाले आफैं खोप खरिद गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको थियो । सरकारले खोप खरिद गरेर दिन नसक्ने अवस्था सिर्जना हुने हो भने नगरपालिका स्थानीय सरकार खोप खरिद गर्न तयार रहेको नगरपालिकाले जनाएको थियो । अहिले पनि नगरमा खोपको कमि आउन नदिने नगरप्रमुख आचार्यको भनाई छ । अहिले कोभिसिल्ड, भेरोसिल र जन्सन एण्ड जन्सन भ्याक्सिन नगरवासीलाई लगाईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *