पथरिशनिश्चरेमा पुनः कोरोना संक्रमण फैलिदैं
छविराज ढकाल,
पथरिशनिश्चरे ।

पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिकामा गत २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमण दर पुनः तिब्ररुपले बढेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आईतबार प्रकाशित एक स्वास्थ्य बुलेटिनमा पथरिशनिश्चरे नगरपालिकाभित्र जिल्लामै सबैभन्दा बढी कोभिड-१९ का संक्रमित थपिएको जनाईएको छ । केही दिन अघिदेखि निरन्तर संक्रमण शून्य रहेको यस नगरमा पुनः संक्रमण फैलिएको पुष्टि भएको हो।
गत २० गते पीसीआर विधिबाट एक सय पाँच जनाको स्वाव संकलन गरिएका मध्ये शनिबार २२ पूरूष सहित कूल ४० जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।
हाल नगरमा कूल ७ सय ४ संक्रमितमध्ये ५ सय ४१ ले कोरोना भाइरसलाई जितेर निको भएका छन् भने १९ जनाले ज्यान गुमाएका छन् । हिजो एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्यकर्मी याम खड्काले बताएका छन् ।
त्यसैगरी, गत २४ घण्टाभित्र कोरोना भाइरसको संक्रमणका कारण ४९ महिला र४१ पूरूष सहित कूल ९० जना नयाँ कोरोना संक्रमित थपिएको जिप्रका मोरङले जनाएको छ । हालसम्ममा जिल्लामा २१हजार ९ सय २६ जना संक्रमित भएका छन् भने उपचारपछि १६ हजार २ सय ८८ जना निको भएर घर फर्किएका हुन्।
त्यस्तै, वेलवारी नगरपालिकामा १७ महिला सहित कूल २६ जना नयाँ संक्रमित थपिएर कूल १ हजार २ सय १२ जना संक्रमित भएका छन्। ति मध्यें ५ सय ३५ निको भएका हुन् भने २८ जनाले मृत्युवरण गरेका छन् ।
उता, केराबारी गाउँ पालिकामा पछिल्लो चौविस घण्टामा १४ महिला सहित कूल २४ नयाँ थपिएसंगै कोरोना भाइरसका संक्रमितको कूल संख्या ९ सय १३ पुगेको हो । जसमा ५ सय १३ ले कोरोनालाई जित्न सफल भएका छन् भने ११ जनाको मृत्यु भएको छ।
उता, विराटनगर महानगरपालिकाभित्र गत २४ घण्टाभित्र थप नयाँ कोरोना संक्रमित नथपिए पनि १२हजार३सय २० मध्ये ९हजार ४ सय १८ जना निको भएका छन् भने एक सय ६१ जनाले ज्यान गुमाएका छन् ।
केही दिन अघि कोरोना संक्रमण दर उच्च देखिएका मोरङका लेटाङ्ग, केराबारी, सुन्दरहरैंचा ,उर्लावारी लगायतका पालिकाहरूमा भने संक्रमण दर केही नियन्त्रणमा आएको बताइएको छ ।
