जीवनलाई जोखिममा नपारौं
शिथिल बन्न थालेको हो कि जस्तो भएको कोभिड संक्रमणले फेरि शिर उठाउन थालेको छ । प्रत्येक दिन थपिन थालेको संक्रमणको संख्याले मृत्यु छेउ नै आइसकेको सङ्केत गरिरहेको छ । राजधानी काठमाडौं लगायत जनघनत्व बढी भएका क्षेत्रहरूमा संक्रमणको ग्राफ निरन्तर उकालो लागेको सन्दर्भले महामारीको तेस्रो लहरको भयावहताको सम्भावना नजिक ल्याएको छ । यसो हुनुका पछि हाम्रो लापरबाही मुुख्य जिम्मेवार छ । सम्भावित जोखिमबाट जनतालाई सुरक्षित राख्न सरकारले जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न अनुरोध गर्दै निषेधाज्ञा जारी गरेको छ । स्वास्थ्यप्रति सचेत र सजग हुन विज्ञहरूले बारम्बार अनुरोध गरिरहेका छन् । सामाजिक, धार्मिक तथा राजनीतिक गतिविधिलाई सन्तुलित राख्न निर्देशन दिइएको छ । तर, भीडभाड कम भएको छैन, मुख्य चोक बाहेक पसलहरू ‘चोरीदाउ’मा सञ्चालन भइरहेका छन् ।
कोभिड संक्रमणको उत्परिवर्तित भेरियन्ट झनै आक्रामक हुने विज्ञहरूको अनुमान जस्तै प्रत्येक लहरले मानवीय क्षति बढाइरहेको छ । अहिले संक्रमणको दोस्रो लहरको जस्तै कोभिड संक्रमितहरूले अस्पतालका शय्या भरिएका छन् । तत्काल आवश्यक पर्ने सघन उपचार कक्ष, जीवन सहायक यन्त्र (भेन्टिलेटर), जीवन सञ्चार गर्ने वायु अक्सिजन नपाइने अवस्था आइसकेको छ । तर, मानव गतिविधि आफूसामु उपस्थित जोखिमप्रति बेखबर जस्तै देखिन्छ । निजी सवारीसाधन निष्फिक्री गुडेका छन्, त्यसलाई नियमन र नियन्त्रण गर्नेतर्फ विशेष दायित्व भएको स्थानीय सरकार र जनप्रतिनिधिहरूको चासो नै छैन । स्थानीय प्रशासनले निषेधको आदेश जारी ग¥यो तर, कार्यान्वयन गर्ने निकाय निदायो । यसले कोभिडको जोखिम बढाएको मात्र छैन वृद्धवृद्धा र बालबालिकाको सुरक्षामा चुनौति थपेको छ । मुख्य राजमार्गको चोकहरू केही शान्त देखिए पनि बाँकी सडक, सहायक र ग्रामीण सडकमा सवारीसाधनको चाप उस्तै छ । कसैले सवारीमा अत्यावश्यकीय सेवा जनाउने स्टिकर टाँसेर त कसैले प्रभाव देखाएर सवारी चलाउँदा देखासिकीमा सवारी थपिनेक्रम तीव्र भएको छ ।

निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारसँग समन्वय गरेर जनस्वास्थ्यका मापदण्डको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । आदेशको अवज्ञा गर्ने सवारीधनी, चालक, व्यवसायी अथवा निर्दिष्ट निकाय, संस्था र व्यक्तिको पहिचान गरी कठोर दण्डसजाय दिनुपर्छ । सावधानी, सतर्कता र अनुशासनको पालनाबाट मात्रै विद्यमान कोरोनाजन्य पीडाबाट मुक्ति पाइने भएकाले स्वयम्को सचेतना आजको पहिलो आवश्यकता हो । प्रहरीसँग लुकामारी खेल्न रमाउने मानसिकताले आफैँलाई क्षति गर्छ अनुभूत गर्न जरूरी छ। यातायात लगायतका सार्वजनिक सेवा बन्द गरिनु मानव सभ्यताको रक्षाका लागि हो भन्ने चेतना आफैँमा जागृत नहुञ्जेलसम्म कोभिड जोखिम न्यूनीकरण र नियन्त्रण हुन सक्दैन सबैले आत्मसात गर्नु पर्छ । यदि प्रहरीको आँखा छल्नु नै जित्नु हो भन्ने बुझियो भने दुष्परिणाम भोग्न तयार हुनुपर्छ । होइन भने निर्देशको सबैले पालना गरौं, बिनाकाम घर बाहिर ननिस्कौं, सुरक्षा मापदण्डको अनुशरण गरौं । आफू बाँचौं, परिवार, समाज र देशलाई विद्यमान कोरोनाजन्य सम्भावित जोखिमबाट बचाऔं ।
