June 17, 2026

माओवादीले बनाइदियो ओलीका सहयोद्धाको घर

0

मेचीनगर।


झापा विद्रोहमा अगुवाई गर्नेमध्येका एक सानो दुर्गा अधिकारी नयाँ घर पाएकोमा दंग छन् । उनले माओवादी केन्द्रको सहयोगमा बल्ल नयाँ घर पाएका हुन् । केपी ओलीसँगै आन्दोलन गरेर १७ वर्ष जेल जीवन बिताएका अधिकारीको घर माओवादी केन्द्रको सहयोगमा निर्माण सम्पन्न भएको हो ।

धुलाबारीको पुल छेउमा सडक पेटी नजिकै रहेको जग्गामा अधिकारीको घर निर्माण सम्पन्न गरी बुधबार तालाचाबी हस्तान्तरण गरिएको छ । नयाँ घर बनाइदिएपछि विगत लामो समयदेखि डेरा गरी बस्दै आएका अधिकारी दम्पती वृद्धाअवस्थामै भए पनि आफ्नै नयाँ घरमा बस्न पाएका छन् ।

परिवर्तनका खातिर १७ वर्ष जेल जीवन बिताएका ७० वर्षीय अधिकारी पछिल्लो समय आर्थिक अवस्था कमजोर हुँदा कष्टकर जीवन बिताउन बाध्य छन् । आन्दोलनका क्रममा अधिकारी वर्तमान एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २०३० सालमा पक्राउ परेका थिए । झापा, इलाम, वीरगञ्ज र काठमाडौँका विभिन्न जेलमा बसेका अधिकारी ओलीभन्दा ३ वर्ष बढी जेल बसेर २०४६ सालमा जेलमुक्त भएका थिए ।

अधिकारीसँगै जेल जीवन बिताएका ओलीसहित अन्य थुप्रै नेताहरू पछिल्लो समय देशको उच्च पदमा पुगिसकेका छन् । उनीहरूले ऐसआरम, सुख–सुविधा र विलासी जीवन व्यतीत गरिरहँदा सानो दुर्गा अधिकारी भने बुढेसकालमा पनि दुःख र अभावका साथ कष्टकर जीवन बिताउन विवश छन् ।

झापा क्षेत्र नं. १का संघीय सांसद राम कार्की (पार्थ) ले आफ्नो क्षेत्र विकास कोष मार्फत ‘आवाजविहीनहरुका लागि आवास’ कार्यक्रम अन्तर्गत बिनियोजित रकमबाट अधिकारीको घर निर्माण सम्पन्न भएको हो । सांसद कार्की माओवादी केन्द्रका केन्द्रीय नेता पनि हुन् ।

अधिकारीको घर निर्माण सम्पन्न गर्नका लागि सांसद् कार्कीमार्फत ३ लाख १६ हजार रकम उपलब्ध भएको र बाँकी रकम स्थानीय तथा श्रमदानबाट व्यवस्थापन गरी कूल ४ लाख रुपैयाँ खर्चेर निर्माण सम्पन्न गरिएको निर्माण समितिका संयोजक होमप्रकाश आचार्यले बताए । तीन कोठाको उक्त घरमा बरण्डासहित शौचालय छ ।

घर निर्माण सम्पन्न भएसँगै जिउँदो योद्धा सानो दुर्गा अधिकारीले विगतमा नेताहरुले आश्वासन मात्रै दिएर जाने गरेको बताए । उनले सांसद राम कार्की तथा माओवादीका नेता तथा कार्यकर्तालाई घर बनाइदिएकोमा धन्यवाद दिए ।

निर्माण समितिका संयोजक आचार्यको अध्यक्षतामा भएको घर हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रका क्षेत्रीय इञ्चार्ज श्यामवीर लिम्बू, मेचीनगर संयोजक पुष्प गुरागाँई, नेकपा एमाले जिल्ला सदस्य अर्जुन पौडेल, घरधनी सानो दुर्गा अधिकारीलगायतले मन्तव्य राखेका थिए ।

माओवादी केन्द्रका मेचीनगर वडा नं. १० कमिटी अध्यक्ष कृष्ण कौशलले स्वागत तथा सचिव शिवशंकर साहको सञ्चालनमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेताहरु प्रकाश भण्डारी, शिवु बुढाथोकी, राजन चिमरिया लगायतको आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *