June 17, 2026

कतारका नेपालीद्वारा पठाइएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

0

झापा ।

कोरोना भाइरसले निम्त्याएको समस्या समाधानमा सहयोग पु¥याउन कतारस्थित नेपाली व्यवसायीहरुले पठाएको स्वास्थ्य सामग्री आइतबार स्वास्थ्य मन्त्रालयलााई हस्तान्तरण गरेको छ ।

नेपाल बिजेनस एशोसिएशन कतारले एक करोड २० लाख रुपैयाँ बराबरको भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर र नेजल क्यानुला नेपाली व्यवसायी संघ कतारका प्रतिनीधिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विशेषज्ञ डाक्टर रोशन पोख्रेललाई हस्तान्तरण गरेका हुन् ।

नेपाली व्यवसायी संघ कतारका अध्यक्ष तथा सहयोग संकलन एवम् समन्वय समितिका संयोजक महेन्द्रप्रसाद चौलागाँईका अनुसार एक करोड २० लाख मूल्य पर्ने उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । चम्लागाँईका अनुसार सरकारलाई हस्तान्तरण गरिएको सामग्रीहरुमा १४ वटा भेन्टिलेटर, ५० वटा अक्सिजन कन्सन्ट्रेटर, दुई हजार एक सय वटा पल्स अक्सिमिटर र ५० वटा नेजल क्यानुला रहेका छन् ।

उक्त सामग्री स्वास्थ्य मन्त्रालयमार्फत सातै प्रदेशका प्रादेशिक अस्पतालहरुलाई समान संख्यामा वितरण गरिने बताइएको छ । जस अन्तर्गत हरेक प्रदेशले दुई वटा भेन्टिलेटर, ६ वटा अक्सिजन कन्सन्ट्रेटर, ३०० वटा पल्स अक्सिमिटर, सात वटा नेजल क्यानुला पाउनेछन् । प्रदेश १ अन्तर्गत झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले समेत उक्त सामग्री पाउने चम्लागाँईले जानकारी दिए ।

नेपालको मौजुदा स्वास्थ्य संरचनाले मात्र महामारी नियन्त्रण गर्न असम्भव देखिएको र प्रभावित नागरिकहरु अत्यावश्यक सामान्य स्वास्थ्य सुविधाबाट समेत बञ्चित हुनु परेको अवस्थामा आफ्नो मुलुकमा देखिएको दर्दनाकस्थिति नियन्त्रणका लागि सहयोग अभियान सञ्चालन गरिएको अध्यक्ष तथा संयोजक चम्लागाँईले बताए । उनले भने– ‘अक्सिजनको अभाव भएर एकमुठी श्वास फेर्न पनि मुस्किल परेको र स्वास्थ्य सामग्रीको अभावमा उचित स्वास्थ्य उपचार पाउन नसकेर अकालमा ज्यान गइरहेको कारुणिक दृश्यले हामी विदेशमा शान्तिसँग बस्न सकिरहेका छैनौं । मातृभूमिमा विपद् परेको अवस्थामा कतारका व्यवसायीहरु एकजुट भएका छौं ।’

नेपाली दूतावासको सहकार्य र समन्वयमा कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजको संरक्षकत्वमा नेपाली व्यवसायी संघ कतारका पदाधिकारीसहितको सहयोग समिति बनाइएको थियो । उक्त समितिले रकम संकलन गरेको हो । नेपालका लागि कोरोना राहत समिति कतार २०२१ नाम दिएको उक्त समितिको उपसंयोजकमा मो. मुक्तदा मुसलमान (अध्यक्ष, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार), प्राविधिक सदस्यमा डा. नितेष अर्याल रहेका छन् ।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रम पछि अध्यक्ष चौलागाँईले देशमा झन भयावह स्थिति उत्पन्न भएको अवस्थामा संघको तर्फबाट केहि हदसम्म मल्हम लगाउने उद्देश्यले कतारका लागि नेपाली दुतावासको सहकार्य तथा समन्वयमा महामहिम राजदुतूको संरक्षकत्वमा गठित नेपाली व्यवसायी संघ‚ कतारका पदाधिकारी सहितको “नेपाल का लागि कोरोना राहत समिति, कतार २०२१“ लाई यस अभियानमा उत्प्रेरित गरी उत्प्रेरणा र हौसला प्रदान गर्ने कतारका लागि नेपालका महामहिम राजदुत भारद्वाज लगायत दुतावास कर्मचारी परिवार, नेपाली व्यवसायी संघ एवं सम्पूर्ण सहयोगी दाता हरूलाई संघ र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद सहित आभार प्रकट गरेका छन् ।

कतारमा क्रियाशील नेपाली संस्थामध्ये नेपाल बिजनेस एशोसिएशनले मात्रै कानुनी मान्यता पाएको छ । कतारमा नेपालीको लगानीमा रेस्टुरेन्ट, मेडिकल, निर्माण कन्ट्रक्सन, ग्यारेज, किराना पसल, श्रमिक आपूर्ति कम्पनीहरु सञ्चालित छन् । कतारमा करिब तीन लाख ५० हजार नेपाली कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *