April 30, 2026

पञ्चासेलाई सुनाखरी संरक्षण क्षेत्रको रुपमा बढाइने

0

पोखरा,

पोखरा महानगरपालिकाले पञ्चासे क्षेत्रलाई सुनाखरी संरक्षण क्षेत्रका रुपमा अघि बढाउने तयारी गरिएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पञ्चासेलाई सुनाखरी संरक्षण क्षेत्रको रुपमा अगाडि बढाउन बजेटको व्यवस्था गरिएको उल्लेख छ ।

फेवाताल जलाधार क्षेत्र संरक्षणका लागि प्रदेश सरकारसँगको सहकार्यमा फेवातालमा सिल्टेसन बाँध निर्माण तथा जलाधार क्षेत्र संरक्षण कार्य सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो ।

यस वर्ष १५ किलोमिटर सडक किनारामा वृक्षरोपण गरिने उल्लेख गर्दै महानगरपालिकाले नदी किनारामा बाँस, अम्रिसो लगायतका बिरुवा रोप्ने कार्य अभियानका रुपमा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको जनाएको छ ।

राष्ट्रिय विभूति तथा शहीद पार्कमा पोखरा ब्यानर निर्माण तथा पैदलमार्ग निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो । खुल्ला स्थानमा सर्भिस स्टेशन तथा जग्गाको उपलब्धता हेरि सार्वजनिक शौचालय निर्माणको लागि बजेट छुट्याइएको जानकारी दिँदै उहाँले हल्लनचोकमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण कार्य आगामी आवमा सम्पन्न गर्ने गरी ९६ लाख बजेट विनियोजन गरिएको बताउनुभयो ।

सुइखेत खोला, कालीखोला, सेती नदी, खुदीखोला, काहुँखोला, भोटीखोलालगायत नदीहरुले बस्तीमा पारेको असर न्यूनीकरण गरी संरक्षण गर्न बजेट छुट्याइएको छ । ताल, पोखरी र चौतारी संरक्षणका लागि आगामी आवमा निरन्तरता दिने महानगरपालिकाले जनाएको छ ।

कालिका पोखरी तथा कश्यप ताल संरक्षणको लागि डिपिआरअनुरुप निर्माण शुरु गर्न बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *