May 3, 2026

करेन्ट लागेर दुईजनाको मृत्यु, छ घाइते

0

धादिङ,

थाँक्रे गाउँपालिका–३ मा करेण्ट लागेर दुईजनाको मृत्यु भएको छ। छ जना घाइते भएका छन्।

तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। सोमबार साँझ साढे ६ बजे बालुवाखर्कमा रहेको विद्युत् ट्रान्सफर्मरमा चट्याङ लागेर पडकिएपछि त्यहाँबाट वितरित विद्युत् लाइनमा करेन्ट अनियन्त्रित हुँदा लेकमल्डुङ र बेसी मल्डुङ गाउँमा करेन्ट सर्ट हुन पुगेको थियो।

वडा नम्बर ३ का अध्यक्ष अमित घलेका अनुसार करेन्ट लागेर बेसी मल्डुङका ५० वर्षीय सानुमान तामाङ र २४ वर्षीय सागर अर्यालको मृत्यु भएको हो। उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

यस्तै, सोही ठाउँका रुपक अर्याल गम्भीर घाईते भएकाले उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ। अन्य घाइतेहरुको भुमेस्थान स्वास्थ्य चौकी अमर्खुमा उपचार भइरहेको वडाध्यक्ष घलेले बताए। घाइते हुनेमा लेक मल्डुङका तीन महिला र दुई जना पुरुषको रहेका छन्।

घरभित्र जतातातै करेन्ट लाग्न थालेपछि बिजुलीको स्विच अफ गर्न, चार्जमा रहेको मोबाइल झिक्न खोज्दा र करेन्ट लागेको अर्काे व्यक्तिलाई तान्न खोज्दा दुर्घटना भएको स्थानीयले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *