May 3, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नाका सिल

0

उदयपुर,

उदयपुरमा कोरोना भाइरसको सङ्क्रमित १२ जना फेला परेपछि खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नाका सिल गरिएको छ ।

छिमेकी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति फेला परेपछि गाउँपालिकास्तरीय कोरोना भाइरस सङ्क्रमण तथा नियन्त्रण समन्वय समितिको बैठकले गाउँपालिकाको हरेक नाकालाई सिल गर्ने निर्णय गरेको हो ।

उदयपुरबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवेश गर्ने नाका, छिमेकी गाउँपालिका, भोजपुरसँग जोडिएका नाकालाई अनिश्चितकालका लागि सिल गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो । “गाउँपालिकाको तल्लो क्षेत्र उदयपुरको सिमानासँग जोडिएकाले कोरोना भित्रिन सक्ने खतरा देखिएको छ”, उहाँले भन्नुभयो, “उदयपुरसँगै जिल्लाभित्र अन्य स्थानीय तहका बासिन्दालाई प्रवेश गर्न तथा आफ्नो गाउँपालिकाभित्रकालाई बाहिरिनसमेत बन्देज गरिएको छ ।”

प्रशासनको सवारी पास लिएर आएका व्यक्तिलाई समेत गाउँपालिका प्रवेश गर्न नदिइने गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो । समन्वय समितिको बैठकले सो गाउँपालिकाको वडा नम्बर–४ बतासेको भँडारेघाटस्थित पञ्चकौशिका माविमा २० श्ययाको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ ।

यस्तै उदयपुरमा कोरोना सङ्क्रमित फेला परेसँगै हलेसी तुवाचुङ नगरपालिकाले पनि उदयपुरसँगको नाकामा हुने आवतजावतमा रोक लगाएको छ । यसबाहेक एक वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नमा समेत रोक लगाउन सबै वडालाई पत्राचार गरिएको नगरप्रमुख इवन राईले बताउनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा अहिले धमाधम कोभिड–१९ को र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) भइरहेको छ । अहिलेसम्म ५६ व्यक्तिमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । पहिलो चरणमा जिल्लाका सबै स्थानीय तहमा पुगेर परीक्षण गर्ने गरी टोली परिचालन गरिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताउनुभयो । “चैतयता घर आएका सबैको र्यापिड डाइग्नोस्टिक टेस्ट गर्ने गरी तालीम प्राप्त स्वास्थ्यकर्मीको टोली परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारबाट १२० वटा मात्र किट आएकाले थप माग गरिएको छ ।”

जिल्लामा रोजगारीको सिलसिलामा विदेश गएर घर फर्किएका अधिकांशलाई घरैमा राखिएको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधिले होम क्वारेन्टाइन भन्दै घरैमा बस्न दिएपछि जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *