मेची नेत्रालयका कर्मचारीले दिए एकदिनको तलव, टोल विकासका अध्यक्षद्वारा सदस्यलाई खाद्यन्न
काँकरभिट्टा,

झापा मेचीनगर —६ स्थित मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रालि आँखा अस्पतालमा कार्यरत कर्मचारीहरुले आफ्नो एकदिनको तलव बराबरको रकमले नगरको वडा नम्बर—६ का अति विपन्न परिवारलाई राहत सामग्री वितरण गरेका छन् ।
सोमबार अस्पतालकातर्फबाट मेडिकल निर्देशक एवम् वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर शरदचन्द्र प्रकाश राईले मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङलाई खाद्यन्नसहितको राहत सामाग्री प्रदान गर्नुभएको थियो ।
डाक्टर राईका अनुसार अस्पतालमा कार्यरत ६५ जना कर्मचारीहरुले आफ्नो एकदिनको तलव बराबरको रकमले प्रत्येक परिवारलाई १५ केजी चामल, १ पाकेट तेल, १ केजी दाल र १ केजी नुन प्रदान गरेको हो । विपद्का बखत अस्पताल समेत हरेक दीन दुखी र अति विपन्न परिवारका साथ छ भन्ने सन्देश प्रवाह गर्नका लागि राहत सामाग्री उपलब्ध गराएको अस्पतालले जनाएको छ ।
यसैगरी मेचीनगर —६ स्थित लक्ष्मी टोल विकास संस्थाका अध्यक्ष गोविन्द गिरीले आफ्नो टोल विकासमा आवद्घ का १ सय २० घर परिवारलाई खाद्यन्न उपलब्ध गराएको वडाध्यक्ष ललितबहादुर तामाङले बताउनुभयो । आफ्नो संस्थामा रहेका कोहि पनि भोको बस्नु नपरोस भन्ने उद्घेश्यले संस्थाका अध्यक्ष गिरीले चामलसहित अन्य खाद्य सामाग्री वितरण गर्नुभएको हो ।
