पश्चिम बंगाल सरकारले नेपालसँग सीमा जोडिएको भारतीय नाका रानीगञ्ज भएर कुनै पनि मालवहाक सवारी साधन नपठाउने
लक्ष्मी उप्रेती /नरेन्द्र ढकाल,
काँकरभिट्टा ।

भारतमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमितको संख्या बढ्दै र मानिसको मृत्यु हुन थालेपछि पश्चिम बंगाल सरकारले नेपालसँग सीमा जोडिएको भारतीय नाका रानीगञ्ज भएर कुनै पनि मालवहाक सवारी साधन नपठाउने भएको छ । कुनै दिन भारतले यसैका कारण यहि नाका रानीगञ्जसहित नेपालसँग सीमा जोडिएका चारवटामात्र नाका खुला गर्ने निर्णय गरेको थियो ।
पश्चिम बंगाल सरकारले नेपालसँगै भुटान, बंगलादेशसँग सीमा जोडिएका नाका लक गर्ने निर्णय गरेको समाचार स्रोतले जनाएको छ । तर नेपाली समकक्षीहरुलाई प्रशासनलाई लिखित जानकारी नआए पनि मौखिक जानकारी आइसकेको छ ।
नोवल कोरोना भाइरस कोभिड १९ संक्रमण तथा लकडाउनको कारण देखाउदैं पश्चिम बंगाल सरकारले नेपालसँग सीमा जोडिएको भारतीय नाका रानीगञ्ज भएर कुनै पनि मालवहाक सवारी साधन नपठाउने जानकारी मौखिकरुपमा आफुलाई प्राप्त भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताउनुभयो ।
भारतको रानीगञ्ज नाका नेपालको पूर्वी काँकरभिट्टा नाकासँग सीमा जोडीएको छ । केहि दिनअघि भारतको रानीगञ्ज नाकामा थन्किएका १ सय १४ वटा सवारी साधन मंगलबार साँझदेखि नेपाल प्रवेश गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । ग्यास, कोइला, क्लीनर, बुलेट, तरकारी बोकेका ती मालवहाक सवारी साधने तीन दिनदेखि पश्चिम बंगालको पानीट्याँकी रानीगञ्ज नाकामा रोकिएका थिए । पश्चिम बंगाल सरकारको यो निर्णय लिखितरुपमा नेपालका भन्सार अधिकारीहरुलाई प्राप्त नभएपनि मौखिकरुपमा जानकारी प्राप्त भएको बताइएको छ ।

यस विषयमा आफुले अर्थमन्त्रालय भन्सार विभागमा जानकारी गराईसकिएको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार यस विषयमा भारतस्थित नेपाली दुतावास तथा नेपालस्थित भारतीय दुतावासमा समेत जानकारी भइसकेको छ ।
भारतबाट नेपाल प्रवेश गरेका मालवाहक सवारी साधन चालक तथा सहचालकलाई स्थानीय प्रशासनले निगरानीमा राखेको छ । भारतबाट नेपाल प्रवेश गरेका सवारी साधनलाई स्प्रे तथा चालक र सहचालकलाई सेनिटाइजर प्रयोग गर्न लगाइएको, सावुन पानीले राम्रोसँग मिचिमिचि हात धुन लगाइएको, मास्कको प्रयोग गर्न लगाइएको, सामाजिक दुरीको ख्याल गर्न भनिएको तथा तापक्रम नाप्ने लगायत अन्य स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको नेपाली भन्सार अधिकारीहरुले जनाएका छन् ।
सामान लिएर आएका कतिपय सवारी साधन भन्सार परिसरमै पल्टि हुने भारत नै फर्किने गरेको भन्सार अधिकारीहरुको भनाई छ ।
